हेटौंडा । गत भदौ २४ मा सर्वोच्च अदालतमा भएको आगजनीका कारण जलेका कुल २० हजार ३४ थान मुद्दामध्ये ८ हजार थान मिसिल पुनः प्राप्त भएका छन् । आगजनीमा परेका चालु मुद्दामध्ये ४ हजार २०० मिसिल सुरक्षित रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
जलेका मिसिल पुनःस्थापित गर्न सर्वोच्चले कार्यविधि नै बनाएर मुद्दाका पक्षहरुसँग मंसिर १ गतेदेखि मुद्दाको नक्कल मिसिल बुझ्न सुरु गरेको थियो।
आइतबारसम्म सात हजार पाँच सय ३५ थान मिसिल प्राप्त भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। सोमबार झण्डै पाँच सयको हाराहारीमा मिसिल दर्ताका लागि आएको छन्।
भदौ २३ गतेसम्म सर्वोच्चमा विचाराधीन रहेको २४ हजार २३४ थान मुद्दा विचाराधीन थिए। जसमा ४ हजार दुई सय थान मुद्दाका मिसिल बचेर २० हजार ३४ वटा विचाराधीन मुद्दाको मिसिल जलेर पूर्ण रुपमा नष्ट भएका थिए। बचेका मध्ये रिटतर्फ दुई हजार पाँच सय ९ र मुद्दाका जम्मा एक हजार ६९१ थान थिए।
दैनिक तीन सयको हाराहारीमा पक्षहरुबाट जलेका मिसिल प्राप्त भइरहेको कोइरालाको भनाइ छ। एकै दिन ६५० थानसम्म मुद्दाका मिसिल पक्षहरुले ल्याएको सर्वोच्च प्रशासनले जनाएको छ। जलेका मिसिल सर्वोच्च अदालत आफैँले पसिरमा टेन्ट खडा गरेर बुझिरहेको छ भने महान्यायाधीवक्ता कार्यालयमार्फत पनि सरकारवादी भएका मुद्दाको मिसिल बुझिँदैछ।


















