कुलमानले पार्टी छाडेपछि रास्वपाद्वारा समानुपातिकको संशोधित सूची निर्वाचन आयोगमा पेस

हेटौंडा टुडे
२०८२ पुष २७, आईतवार १३:१० गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक (संशोधित) सूची निर्वाचन आयोगमा बुझाएको छ ।

आइतबार बिहान आयोगको कार्यालय पुगेर पार्टीले उम्मेदवारहरूको अद्यावधिक सूची दर्ता गराएको हो ।

यसअघि रास्वपाले आयोगले तोकेको समयसीमा भित्रै ११० जना समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको थियो। तर, उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टुङ्गिएपछि र केही उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएपछि रास्वपाले सूची परिमार्जन गर्नु परेको हो ।

उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने समझदारीसहित एकता प्रक्रियामा सामेल भएका थिए । सोही समझदारी अनुसार घिसिङको तर्फबाट १८ जना उम्मेदवारहरू रास्वपाको समानुपातिक सूचीमा समेटिएका थिए।

तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै एकता प्रक्रिया तोडियो । घिसिङले उपसभापतिसहित धेरै पद मागेपछि रास्वपासँगको एकता तोडिएको नेताहरूले दाबी गरेका छन् भने घिसिङले रास्वपाले एकपक्षीय रुपमा एकता तोडेको आरोप लगाउँदै अध्यक्ष बनेर उज्यालो नेपाल पार्टीकै नेतृत्व सम्हालेका छन् । रास्वपाको पक्षबाट समावेश भएका उम्मेदवारको नाम हटाएर रास्वपाले संशोधित सूची आयोगमा बुझाएको हो।

निर्वाचन आयोगले बुझाइएका सूचीहरूको अध्ययन गरी कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट र दर्ता प्रक्रियालाई तीव्र बनाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*