प्रतिनिधि सभा निर्वाचनमा महिला उम्मेदवारको संख्या न्यून

हेटौंडा टुडे
२०८२ माघ ७, बुधबार १३:५८ गते

हेटौंडा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रारम्भिक विवरणअनुसार उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र एक जना अन्य रहेका छन्। राजनीतिक दलबाट २ हजार २९७ र स्वतन्त्रतर्फ १ हजार १८७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दल र स्वतन्त्र उम्मेदवारबाट ३९१ महिला प्रतिस्पर्धामा छन्। पुरुष उम्मेदवारको संख्या २ हजार ५८९ पुगेको छ। तर, मुख्य दलहरूले उठाएका महिला उम्मेदवारको संख्या न्यून देखिएको छ।

त्यसैगरी,  निर्वाचनमा ४० वर्षमुनिका युवाहरुको बाहुल्यता देखिएको छ भने उमेर समूह हेर्दा ४० वर्षमुनिका ६२ प्रतिशत देखिन्छ ।  २५ देखि ३५ वर्ष उमेर समूहका १६ प्रतिशत अर्थात् ५८३ उम्मेदवार र ३६ देखि ४० वर्ष उमेर समूहका ४६ प्रतिशत अर्थात् १ हजार ६१० उम्मेदवार रहेका आयोगले जनाएको छ ।

४१ देखि ४५ वर्ष उमेर समूहमा ३१ प्रतिशत अर्थात १ हजार ९० जना, ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या ५ प्रतिशत अर्थात् २०१ रहेको आयोगको विवरणमा उल्लेख छ ।

यस्तै, ३ हजार ४८४ उम्मेदवारमध्ये महिलाको संख्या ११ प्रतिशत अर्थात् ३९५, पुरुष ७९ प्रतिशत अर्थात् ३ हजार ८८ र र अन्य १ जना छन् ।
निर्वाचन आयोगका अनुसा उम्मेदवारी दिएका राजनीतिक दलको संख्या ६८ छ ।

साथै, निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  उम्मेदवारी दर्ता गराएकामध्ये १३ प्रतिशत बढी महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

देशभर १ हजार २४ जनाले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

कांग्रेसबाट ११ महिला उम्मेदवा 

 १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ जना महिलालाई मात्र उम्मेदवार बनाएको छ।

एमाले र नेकपामा पनि महिला सहभागिता सीमित

नेकपा एमालेले सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, बारा–३ मा ज्वालाकुमारी शाह, धनुषा–२ मा जुली महतो र बाग्लुङ–२ मा मञ्जु चालिसेलाई उम्मेदवार बनाएको छ। एमालेले कर्णाली र सुदूरपश्चिममा महिला उम्मेदवार उठाएको छैन।

१६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिस्ट पार्टीले १२ जना महिला उम्मेदवार अघि सारेको छ। झापा–२ मा धर्मशिला चापागाईं, संखुवासभामा सरिता खड्का थापा, सुनसरी–२ मा रामकुमारी चौधरी, सप्तरी–४ मा रुवीकुमारी कर्ण, काठमाडौँ–१ मा मेनका भण्डारी, काठमाडौँ–४ मा कल्पना शर्मा, काठमाडौँ–१० मा रुपा महर्जन, कञ्चनपुर–१ मा बिना मगर, चितवन–३ मा रेनु दाहाल, काभ्रेपलाञ्चोक–२ मा बसुन्धरा हुमागाईं, नवलपरासी पश्चिममा सिन्धु जलेशा र मनाङमा यशोदा सुवेदी गुरुङ उम्मेदवार बनेका छन्।

नेकपाले काठमाडौँ उपत्यकामा मात्रै तीन जना महिलालाई टिकट दिएको छ।

रास्वपा र अन्य दल

रास्वपाले १० जना महिला उम्मेदवार उठाएको छ। काठमाडौँ–१ बाट रञ्जु दर्शना, झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, मोरङ–५ मा आशा झा, मोरङ–६ मा रुविना आचार्य, सुनसरी–१ मा सरिन (गोमा) तामाङ, कास्की–३ मा बिना गुरुङ, जुम्लामा विनिता कठायत, हुम्लामा टासी लाह्जोम, चितवन–३ मा सोविता गौतम र धादिङ–१ मा आशिका तामाङ प्रतिस्पर्धामा छन्।

यसैबीच, नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री निशा अधिकारीले काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले हालै दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट उम्मेदवारी दिएकी हुन्।

राप्रपाले ११ जना महिला उम्मेदवार उठाएको छ भने अन्य साना दल र स्वतन्त्रतर्फबाट पनि महिला उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार सोमबार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार प्रत्यक्षतर्फ २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ। प्रारम्भिक विवरण भएकाले अन्तिम संख्यामा सामान्य हेरफेर हुन सक्ने आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*