नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ । आइतबार (चैत १५) बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन् ।
‘पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ ।’
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।






















