स्टियरिङ छोडेर भागेका सुरेश आज कृषि पेशाबाट मासिक लाखौँ कमाउछन

हेटौंडा टुडे
२०८३ असार ११, बिहीबार ०६:३२ गते

हेटौडा । कुनै समय ठुला – ठुला विकास निर्माणका आयोजनामा स्काभेटरको स्टियरिङ फनफनी घुमाउने मकवानपुरका एक युवा आज आफ्नै गाउँको माटोमा पसिना बगाएर सुन फलाउन सफल भएका छन ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३, देवीडाँडाका २९ वर्षीय युवा किसान सुरेश कुमार भ्लोंन अहिले गाउँमै एक सफल, उदाहरणीय र स्थापित कृषकका रूपमा परिचित छन । साढे ११ वर्षसम्म स्काभेटर चालकको रूपमा देशका विभिन्न ठाउँमा जीवन बिताएका सुरेश आज ड्रागन फल खेती मार्फत मासिक लाखौँ आम्दानी गर्दै गाउँका सयौँ युवाका लागि प्रेरणाको मुख्य स्रोत बनेका छन् ।

 

चालकको जागिर छोडेर गाउँ फर्किएपछि।

लामो समयसम्म मेसिन चलाएर जीविका चलाएका सुरेशलाई सधैँ अर्काको मातहतमा काम गर्नुभन्दा आफ्नै ठाउँमा केही नयाँ कृषि गर्ने सोच आयो । कृषि क्षेत्रमा प्रचुर सम्भावना देखेपछि उनी गाउँ फर्किए। धेरै वर्ष स्काभेटर चलाएँ, तर आफ्नै माटोमा केही गर्ने सोच आएपछि गाउँ फर्किएँ, सुरेश “विगत सम्झँदै भन्छन्” ।

उनले वि.सं. २०७९ सालको चैत महिनाबाट औपचारिक रूपमा ड्रागन फल खेती सुरु गरे। सुरुवाती चरणमा करिब १५ लाख रुपैयाँको लगानीबाट सुरु भएको यो व्यवसायले आज उनलाई लाखौको मालिक र सफल उद्यमी बनाइसकेको छ । हाल उनले कुल सात रोपनी क्षेत्रफलमा आधुनिक तरिकाले ड्रागन फलको व्यावसायिक खेती गरिरहेका छन्।

 

उत्पादनमा निरन्तर बृद्दी र उत्साहजनक लक्ष्य

सुरेशको फार्ममा ड्रागन फलको उत्पादन वर्षैपिच्छे लोभलाग्दो गरी बढिरहेको छ। खेती सुरु गरेको पहिलो डेढ वर्षमा उनले १४ क्विन्टल ड्रागन फल उत्पादन गरेर बजारमा बिक्री गरे। व्यवसायको दोस्रो वर्ष उत्पादन झन्डै तेब्बरले बढेर ४२ क्विन्टल पुग्यो। यो वर्ष उनको फार्ममा रहेका बिरुवाहरू तीन वर्षका पूरा भइसकेका छन्। बिरुवा वयस्क भएसँगै यस वर्ष उत्पादनमा ठुलो फड्को मार्ने सुरेशको अनुमान छ । उनी भन्छन्, यो वर्ष ८० देखि ९० क्विन्टलसम्म ड्रागन फल बेच्ने मेरो लक्ष्य छ, जसका लागि बजारको कुनै समस्या छैन। आधुनिक प्रविधि र निरन्तर मेहनतको बलमा उनले उत्पादन र बजार व्यवस्थापन दुवैलाई निकै प्रभावकारी बनाएका छन्।

 

गरिबीबाट आर्थिक सबलीकरणतर्फ बहुआयामिक कृषि प्रणाली

कुनै समय सुरेशको परिवारलाई कृषि कर्मबाटै दुई छाक टार्न र खान- लगाउन पनि निकै धौ – धौ पर्ने स्थिति थियो। परम्परागत खेतीपातीले वर्षभरि खान पनि पुग्दैनथ्यो। तर, सुरेशले कृषिमा व्यावसायिकता भित्र्याएपछि आज परिवारको जीवनस्तर निकै माथि उठेको छ र आर्थिक अवस्था मजबुत बनेको छ।

अहिले सुरेशले केवल ड्रागन फल मात्र नभई बहुआयामिक कृषि प्रणाली अपनाएका छन्। उनले ड्रागन फल खेतीसँगै उन्नत पशुपालन र व्यावसायिक टमाटर खेतीलाई पनि समान रूपमा अगाडि बढाएका छन्। यही बहुआयामिक प्रणालीका कारण उनको आम्दानीको स्रोत अझ बलियो र सुरक्षित बनेको छ। हाल विभिन्न कृषि व्यवसायहरूबाट मासिक करिब १८ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरी उनले आगामी व्यावसायिक योजना बुनिरहेका छन्। सुरुमा चुनौतीहरू धेरै थिए, तर निरन्तरको मेहनतले आज मिठो परिणाम दिएको छ, उनी मुस्कुराउँदै भन्छन् ।

 

सरकारी अनुदानले थप्यो उत्साह

सुरेशको यो उत्साह र मेहनतलाई सरकारी निकायले पनि साथ दिएका छन्। उनले आफ्नो कृषि व्यवसायलाई विस्तार गर्ने क्रममा चितवन कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालयबाट आवश्यक प्राविधिक सहयोग तथा अनुदान प्राप्त गरेको बताएका छन्। राज्यका तर्फबाट प्राप्त यस्ता प्रोत्साहनले वास्तविक किसानलाई कृषि क्षेत्रमा टिकिरहन र अझ ठुलो लगानी गर्न मद्दत पुग्ने उनको अनुभव छ।

 

गाउँकै गौरव र युवाहरूका लागि प्रेरणा

एक समय वैदेशिक रोजगारी वा सहर बजारका अन्य पेसातर्फ आकर्षित हुने गाउँका युवाहरूका लागि आज सुरेशको सफलता एउटा पाठशाला बनेको छ । आफ्नै गाउँघरमा पसिना बगाए विदेशको भन्दा धेरै र सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने विश्वास उनले दिलाएका छन्। आजभोलि गाउँमा उनको सफलताको चर्चा जताततै सुनिन्छ। छिमेकी गाउँ र टाढा- टाढाबाट समेत धेरै युवाहरू उनको कृषि फार्मको अवलोकन गर्न र खेती सिक्न आउने गरेका छन्। स्थानीय बासिन्दाहरू भन्छन्, सुरेशले केवल गफ गरेर होइन, माटोमा मेहनत गरेर देखाउनुभएको छ। उहाँको सफलताले गाउँका धेरै बेरोजगार युवाहरूलाई कृषि पेसातर्फ आकर्षित गरेको छ।

स्काभेटरको स्टेरिङबाट सुरु भएको सुरेशको जीवनयात्रा आज एक प्रतिष्ठित र सफल कृषकको पहिचानमा रूपान्तरण भएको छ। दृढ इच्छाशक्ति, धैर्यता र सही योजना हुने हो भने कृषि क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण मकवानपुरगढीका यी तन्नेरीले प्रस्तुत गरेका छन्। सुरेश कुमार भोलनको यो सफलता केवल उनको व्यक्तिगत उपलब्धि मात्र होइन, समग्र ३ नम्बर वडा मकवानपुरगढी गाउ पालिका कृषिको अथाह सम्भावनालाई उजागर गर्ने एक उत्प्रेरक कडी पनि हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*