हेटौंडा। सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। यस निर्णय सँगै अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।
त्यसैगरी, अर्थ मन्त्रालयअन्तर्गत डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टु का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। त्यसैगरी, ुदिगो र समावेशी वित्त परियोजनाु का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ।
वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ। यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय भएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले यस विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने जानकारी दिए।


















