हेटौंडाका १० होटलमा क्वारेन्टाइन सञ्चालन गरिने,१२ सयदेखि ३५ सय सम्म शुल्क लिइने

हेटौडा टुडे
९ असार २०७७, मंगलवार २३:०१

९ असार, कतार

कतारबाट स्वदेश फर्केपछि बस्ने क्वारेन्टाइनबारे स्पष्ट खुलाउनुपर्ने भएको छ । स्वदेश फर्केपछि होटल क्वारेन्टाइन वा स्थानीय तहको क्वारेन्टाइनमा बस्ने भन्ने बारे फारम भर्दा स्पष्ट खुलाउनुपर्ने भएको हो । होटल क्वारेन्टाइनमा बस्नेले होटलको विवरण दिनुपर्ने भएको छ ।कतारबाट हेटौंडा फर्कर्ने तयारीमा रहेका ३५ बर्षीय युवालाई नेपाली राजदूतावास दोहा कतारले होटल क्वारेन्टाइनमा बस्ने भए होटलको नाम, ठेगाना सहितको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले विदेशबाट फर्केर स्थानीय तहको क्वारेन्टाइनमा बस्नेलाई क्वारेन्टाइनको व्यवस्था गर्ने जनाएको थियो । प्राप्त जानकारी अनुसार स्थानीय निकायको क्वारेन्टाइनमा बस्नेलाई प्रतिदिन सरकारको तर्फबाट १ सय ७५ रुपियाँ बराबरको खानाको व्यवस्था गरिएको छ । त्यस्तै हेटौंडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याइने भएको छ । विदेशबाट फर्किएकाहरूले प्रयोग गर्ने गरी शुल्क तिरेर बस्नका लागि मकवानपुर होटल एशोसियसनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने टिमलाई क्वारेन्टाइनमा प्रयोग गरिने १० वटा होटलहरूको सूची दिएको हो । बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्था सहित सेवाग्राहीलाई प्याकेज सेवा दिने गरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याइने भएको छ । एट्याच्ड बाथरुम सहितको प्रथम श्रोणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा क्वारेन्टाइनका लागि उपलब्ध गराइने छ । होटलमा बस्न आउने कम्तीमा १० जनाको समूह हुनुपर्ने र सेवाग्राहीले पूर्वभुक्तानीको व्यवस्था गर्नुपर्ने मकवानपुर होटल एसोशियसनका अध्यक्ष शंकरलाल श्रेष्ठले बताए ।

प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ र द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दाको एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको छ । यस्तै एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने छ । सरकारी क्वारेन्टाइनमा बस्न नचाहने र शुल्क तिरेर बस्न चाहनेका लागि होटलमा क्वारेण्टाइनको व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

हेरांै यस्तो छ दर
१. मोटल एभकाडो, होटल सूर्यान्स (प्रतिब्यक्ति २५ सय, दुईजनाको ३५ सय
(प्रतिदिन)

२. होटल आर्शिवाद, रोयल क्राउन होटल, मेघा होटल, तुरही होटल , होटल मयुरी थकाली भान्छाघर, होटल वेलकम, न्यु मंगोलम होटल एण्ड लज (प्रतिब्यक्ति १७ सय, दुईजनाको २५ सय (प्रतिदिन)

३.होटल चण्डीका (प्रतित्तयक्ति १२ सय, दुई जनाको १८ सय (प्रतिदिन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*