गढि गाउपालिका ३ भानु माविमा भवन बनाउँदा बिम नै गायब

हेटौंडा टुडे
२४ असार २०७७, बुधबार २२:०४
फाईल फोटो

असार २४, हेटौडा

मकवानपुरगढी गाउँपालिकास्थित भानु माद्यमिक विद्यालय परिसरमा निर्माण थालिएको नयाँ भवन प्रचलित मापदंड विपरित रहेको तथ्य बाहिर आएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मा रहेको सो विद्यालय परिसरमा निर्माण भइरहेको १२ कोठे भवन आचारसंहिता र भवन निर्माण सम्बन्धी मापदंड विपरित रहेको खुलेको हो ।

सो भवन निर्माण गर्दा त्यसको भुइँ  (प्राविधिक भाषामा प्लिन्थ लेभल भनिन्छ )  मा राख्नुपर्ने वेस बिम नराखेको पाइएको हो । सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशले नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत भवन निर्माण गर्न बजेट उपलब्ध गराएको थियो । सो बजेटभित्र रहेर भवन निर्माण गर्न विद्यालयले निर्माण समिति समेत बनाएको छ । सो समितिले पनि भवन निर्माण गर्दा बेस बिम राख्न छुटेको स्वीकार गरेको छ । निर्माण समितिका संयोजक चन्द्रबहादुर योञ्जनले पहिले भवन निर्माणको काम सुरु गर्दा प्राविधिकले नै बेस बिम राख्न नपर्ने बताएको  जानकारी दिए । ‘पहिले प्राविधिकले पर्दैन भने, मैले प्राविधिकको सल्लाह अनुसार नै गरेको हो–उनले भने ।

प्लिन्थ लेभलको कूल १० वटा बिममध्ये ४ वटा बिम नै नहाली निर्माण कार्य अघि बढाइएको छ । प्राविधिक बिष्णु ढुंगानाले भने पहिलो (फस्ट बिम)  नभएर केही पनि फरक नपर्ने दावी गरेका छन् । त्यसैगरी निर्माणका लागि प्रयोग हुने गरिने सामग्री (मसलामा)  सिमेन्ट कम प्रयोग गरिएको छ । मसला तयार पर्दा सिमेन्ट, वालुवा र गिटीको मात्रामा पनि ठगी गरिएको स्रोतको दावी छ । स्रोतका अुनसार, भवन निर्माण गर्दा १६ एमएमको ६ वटा रड प्रयोग गर्नुपर्नेमा ४ वटामात्रै प्रयोग गरिएको छ ।

गल्ती भएकै हो, – प्र.अ थापा
विद्यालयका प्र.अ राजेन्द्र थापाले प्लिन्थ बिम (फस्ट बिम) नहाली निर्माण अघि बढाइएको स्वीकार गरेका छन् ।
उनले करिब असार २० भित्र डिपिआर अन्तरगतको बेस निर्माणको काम सक्नुपर्ने बाध्यता भएकोले निर्माणको काममा केही कमजोरी भएको हुनसक्ने बताए । चालु आवभित्रै निर्माणको काम सक्नुपर्ने बाध्यता थियो, भवन प्राविधिक निर्माणस्थलमै हुनुहुन्थ्यो, प्राविधिककै रोहबरमा काम भएको हो, तर निर्माणको जिम्मा पाएको समितिले ४ वटा बिमनै नहाली काम अघि बढाउनु भएछ – प्रधान्याध्यापक थापाले भने ।‘गल्ती भएको हामी स्वीकार्छौँ, भवन प्राविधिकहरुसंग निरन्तर सल्लाह लिइरहेका छौँ । भवन बलियो र गुणस्तरीय कसरी हुन्छ भन्ने बारे ब्यापक छलफल र सल्लाह लिएर निर्माणको काम अघि बढाइने छ’ – उनले थपे ।

बिम नभएर केही हुँदैन, प्राविधिक ढुंगाना
मकवानपुरगढी गाउँपालिकाका प्राविधिक विष्णु ढुंगानाले प्लिन्थ बिम नहालेर केही फरक नपर्ने भन्दै गैरजिम्मेवार पूर्ण जवाफ दिएका छन् । बिम छुटेको हो, हामी माथि थप्छौँ, केही फरक पर्दैन ।’ स्रोतका अनुसार भवन निर्माणको लागि नक्सा उनकै कन्सल्टेन्सीबाट बनाइएको हो, उनकै कन्सल्टेन्सीबाट भवनको नक्सा निर्माण गरिएको र उनकै रोहबरमा निर्माणको काम भएकोले बिम नहालेको बारे उनी जानकार छन् – स्रोतले भन्यो ।

प्राविधिकले बिम चाहिँदैन भन्नुभयो – निर्माण समितिका संयोजक योञ्जन
निर्माण समितिका संयोजक योञ्जनले लेआउटको चरणमा भवन प्राविधिकले प्लिन्थ बिम नहालेपनि हुन्छ भन्नुभएकोले आफुले बिम नहाली निर्माण अघि बढाएको बताएका छन् । ६ वटामात्रै बिम हाल्दा हुन्छ भन्नुभयो, मैँले प्राविधिकको सल्लाह अनुसारनै गरेको हो – उनले भने ।
अन्य कमि कमजोरी भएको रहेछ भने सुधार्ने उनले बताए ।

प्रदेश सरकारको बजेट बालुवामा पानी
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मकवानपुर जिल्लाका २ वटा विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ । सोही कार्यक्रम अनुसार श्री भानु उच्च माध्यामिक विद्यालयमा १२ कोठे ३ तल्ले नयाँ भवन निर्माणका लागि पहिलो चरणमा रु ५० लाख विनियोजन गरेको छ । ५ बर्षमा भवन निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ भने करिब ४ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले पहिलो चरणमा रु ५० लाख विनियोजन गरेको छ तर निर्माणमा गम्भीर लापरबाही भएको तथ्य बाहिर आएपछि अब सामाजिक विकास मन्त्रालयले यसलाई कसरी समाधान गर्छ त्यो भने हेर्न बाँकी छ ।

अनुगमन गर्यौँ, सच्याउन निर्देशन दिएका छौँ – पुडासैनी
मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले यो गुनासो गाउँपालिकासम्म आइपुगेको र यसबारे गाउँपालिकाले पनि अध्ययन गरिरहेको जानकारी दिए । हिजो हामीले अनुगमन गरेका थियौँ, गल्ती सच्याउन भनेका छौँ, पुडासैनीले भने ।

 

www.tukhabar.com बाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*