
‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले भरतपुरको चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि असोज ३ गतेदेखि देशभर प्रदर्शनमा हुने ‘कबड्डी कबड्डी कबड्डी’ टिमले तीन लाख आर्थिक सहयोग गरेको छ । फाउन्डसनका प्रमुख सिताराम कट्टेललाई फिल्म अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले तीन लाखको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि अभिनेता दयाहाङले रंगशाला निर्माणका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले देशकै गौरवको आयोजना भएकाले सबै नेपालीलाई सहयोग गर्न आग्रह गरे । अर्का अभिनेता विल्सनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नु सबैको दायित्व भएको बताए ।
‘धुर्मुस सुन्तली फाउन्डेसन’ का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले क्रिकेट रंगशाला निर्माणमा फिल्मकर्मीबाट मिलेको सहयोगप्रति आभारी जनाएका थिए । उनले राष्ट्रिय गौरवको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरे । अहिले क्रिकेट रंगशालाको निर्माण काम भइरहेको छ । सो रंगशाला दुई वर्षभित्र महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।
यस्तै, प्रदर्शन मिति नजिकिँदै गर्दा सामाजिक कार्यमा समेत सक्रियता देखाएको ‘कबड्डी कबड्डी कबड्डी’ टिम प्रचार(प्रसारमा व्यस्त भएका छन् । फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वलाई देखाएको छ । दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्। फिल्मको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
साभार TV Filmy मनै देखि फ्रिल्मी

