डेंगु त नियन्त्रण गर्न नसक्ने सरकारसंग अरु के अपेक्षा गर्नु :- नेता बानियाँ

हेटौडा टुडे
१ आश्विन २०७६, बुधबार १९:४७

हेटौंडा, असोज १

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुई महिनादेखि महामारीको रुपमा फैलिरहेको डेंगु नियन्त्रण गर्न त नसक्ने कम्युनिष्ट सरकारसंग केही अपेक्षा गर्न नसकिने बताउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र २ ख को मनहरी गाउँपालिकामा दोश्रो जागरण अभियानअन्तर्गत गाउँपालिकास्तरीय अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि बानियाँले अहिलेको सरकार जनताको स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा पनि आँखा चिम्लेर बसेको बताउँदै कसरी र कुन बाटोबाट हुन्छ रकम कुम्ल्याउने भन्नेमै लागिपरेको बताउनुभयो ।नेता बानियाँले जिल्ला तथा गाउँपालिकास्तरीय अगुवा नेताहरु अब गाउँरगाउँ गएर विगत दुईवर्षदेखि कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र झुठो आश्वासनको भण्डाफोर गर्दै कांग्रेसले विगतदेखि अहिलेसम्म गरेका एेतिहासिक कामका बारेमा जनतालाई बुझाउन निर्देशन दिनुभयो ।कांग्रेसका नेताहरु कम बोल्ने भएपनि बोलेको पुर्‍याउन कुनै कसर नराख्ने बताउँदै नेता बानियाँले दुईवर्षसम्म कम्युनिष्ट सरकारको अन्याय र अत्याचार सहेर बसेपनि अब चुप लागेर नबस्ने बताउनुभयो ।
प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा नयाँशक्ति पार्टीका जिल्ला सदस्य गोपी बिकसहित नेकपा, राप्रपाका १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा जागरण अभियानकी केन्द्रीय प्रतिनिधि एवं ३ नम्बर प्रदेश प्रदेशसभा सदस्य गिता वाग्ले, कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामा, सल्लाहकार तथा मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्यहरु भीमसेन महत, नवराज सुवेदी, साविक मनहरी गाविस सभापति नारायण उप्रेती, मनहरी गाउँपालिका प्रमुखका उम्मेदवार शंकर न्यौपाने, महासमिति सदस्य रञ्जन कालाखेतीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौलाले सञ्चालन गरेको अन्तरक्रियामा मनहरी गाउँपालिकाका ९ वटै वडाका वडासभापति तथा प्रतिनिधिले कांग्रेसले विगतमा गरेका कमिकमजोरी र संगठन सुदृढीकरणमा भावी दिनमा गर्नुपर्ने कुराहरुको बारेमा बोल्दै सुझावपत्र बुझाएका थिए ।
कार्यक्रममा जिल्लाका नेता तथा मनहरी गाउँपालिकाको ९ वटै वडाका स्थानीय नेता तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*