असोज २० हेटौडा,
नेपालीहरुको महान पर्व वडादशैको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।
आश्विन शुक्लका दिनमा मनाइने महानवमी दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । एक वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने चलन पनि छ ।