
हेटौँडा,२, माघ / तामाङ समुदायहरुको माहान पर्व २८५६ औँ जीवा ल्होछार (मुसा वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडामा महोत्सवको आयोजना हुने भएको छ । दोश्रो सोनाम ल्होछार महोत्सव मुल आयोजक समतिको आयोजनमा हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै मुल आयोजक समितिका संयोजक आत्माराम मोक्तानले माग १० र ११ गते हेटौँडाको टिसिएन चौरमा महोत्सव हुने बताए । महोत्सवमा तामाङ समुदायको भेषभुसा, सस्कृति, रहनसहनको प्रदर्शन हुने र हेटौँडामा पहिलो पटक नेपाल झाक्रि समाजको महिला झाक्रीहरुको समेत प्रस्तुत रहेन छ भने सेलो नित्य प्रतियोगिता समेत हुने ह्याङ्ल तमाङ समाज हेटौँडाका सचिव सुवाश सिंतानले बताए । कार्यक्रम अन्र्तगत पहिलो दिन सेलो नित्य प्रतियोगिता र साँझ लामाद्वारा पुजापाठ र प्रवचन हुने आयोजकले जनाएको छ । सोहि दिन साँझ सास्कृतिक घेदुङसँघको संयोजनमा हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन हुने छ । त्यसैगरी भोलीपल्ट झाँकी, र्याली, उद्घाटन तथा समापन समारोह हुने र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमका प्रचारप्रसार संयोजक दिलबहादुर लामाले बताए । कार्यक्रममा ६ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई वागमती प्रदेशका उपसभामुख राधिका तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा तामाङ घेदुङ संघ, वागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, घेदुङका जिल्ला सल्लाहकार शुभरत्न गोले, घेदुङका कार्यबहाक अध्यक्ष कालु घलान, युवा घेदुङका जिल्ला अध्यक्ष सुनिल लोप्चन, कार्यक्रमकी आर्थिक संयोजक डोल्मा स्याङ्वो, युवा घेदुङ केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सविन मोक्तान, सास्कृतिक घेदुङका जिल्ला अध्यक्ष अजय गोले लगाएतको आतिथ्यता रहेको थियो ।

