फागुन ७ हेटौंडा / रेडियो थाहा सञ्चारले स्थापना समयदेखि निरन्तर रुपमा निष्पक्ष भई सामाग्री प्रशारण गरि समुदायलाई सहयोग गरेको भन्दै प्रशंसा गरिएको छ । विन्दावासिनी मिडिया प्रा.लि.द्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफ एम आजबाट १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा सहभागि वक्ताहरुले रेडियोले रुपचन्द्र विष्टको थाहालाई आत्मासाथ गर्दै अघि बढ्नु नै सराहनिय रहेको बताएका छन् ।
वि.स. २०६४ साल फागुन ७ गते हेटौँडाबाट नियमित प्रशारण गरेको रेडियो थाहा नामले नै मानिसलाई चेतना दिने उनीहरुले बताए । थाहाको प्रणेता विष्टको योगदानको प्रसंसा गर्दै उनीहरुले रेडियोले थाहा दर्शनलाई अघि बढाउन र देशभर फैलाउन भुमिका खेलेकोमा सुमार्गी परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि निष्पक्ष रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । रेडियोले निरन्तर रुपमा समाजको ऐना भई अगाडी बढ्न उनीहरुले शुभकामना समेत व्यक्त गरेका छन् । यसैबीच, विगत दुइ दशकदेखि नवदुर्गा साउण्ड सर्भिसमा आवद्ध भइ व्यवसाय गर्दै आउनुभएका अजयकुमार वानियाँलाई रेडियोले थाहा वर्ष सम्मानबाट सम्मान गरिएको छ । हेटौँडामा करिव ३७ वर्षदेखि ६०० को लगानीमा सुरु गर्नुभएको पसलबाट उहाँले ६ लाखको लगानी बढाई सक्नु भएको छ ।
जिल्लामा उहाँलाई माइक दाइले पनि सम्बोधन गर्ने गर्दछन् । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एंव मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले रेडियोले समग्र क्षेत्रलाई समेटेर निष्पक्ष भई निरन्तर अघि बढ्न शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सञ्चार माध्यमले नै समाजलाई झकझकाउने र परिवर्तन गराउन भुमिका खेल्ने हुँदा सकारात्मक पाटोलाई प्राथमिकता दिइ अघि बढ्न आग्रह गर्नुभएको छ । समाजमा लुकेका, रहेका समस्या, सफलता हरेक पाटोलाई रेडियोले समेटेर अघि बढ्न सकुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमको समापन गर्नु हुँदै रेडियोका सञ्चालक अरुणराज सुमार्गीले पत्रकारको हकहितको लागि कोषको स्थापना गर्ने योजना रहेको उद्घोष गर्नुभएको छ । उहाँले सो कोषमा सम्पूर्ण पत्रकारहरु आवद्ध हुन सक्ने बताउनु भएको छ । उहाँले कोषमा पत्रकारहरुलाई आवद्ध हुनको लागिसमेत आग्रह गर्नुभएको छ ।
रेडियोका सञ्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका पुर्ब अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारु मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल,महासचिव प्रमोदसिंह रानाभाट,क्रसर व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्की,वडा प्रहरी कार्यलयका प्रमुख ईश्वरी भण्डारी लगायत जिल्लाका विभिन्न सञ्चारगृहका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
१३ औँ वर्ष प्रवेशका अवसरमा रेडियोका स्टेशन म्यानेजर मणिराज गौतम र रेडियोका सञ्चालक सुमार्गीले संयुक्त रुपमा रेडियोका श्रोता,विज्ञापनदाता, सुभेच्छुक, शुभचिन्तक लगायत सबैमा आभार व्यक्त गर्नुभएको छ । उहाँहरुले रेडियो स्थापनादेखि हालसम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रेडियोलाई निरन्तर साथ, सहयोग तथा हौसला प्रदान गर्नका लागि सरोकारवालालाई आग्रह गर्नुभएको छ ।