
चैत्र ९ हेटौंडा / कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न अहिले आम नेपाली जनता सचेत र सतर्क देखिएका छन् । त्यसैले पनि दैनिक उपभोग्य वस्तुदेखि लिएर अत्यावश्यक अन्य वस्तु लिन र जोहो गर्न आम नेपाली बजार तथा बैंक एवं वित्तीय संस्थाहरु प्रति आकर्षित भएका छन् ।
कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले पनि बिभिन्न तयारी गर्दै जनतालाई सचेत गराएर भीडभाड नगर्न आग्रह गरिसकेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गर्दै विद्यालय, स्कुल, सभा सम्मेलन, सिनेमा हल लगायत बन्द गर्ने निर्णय गरेको थियो । यसै निर्णयलाई आधार मानेर हेटौंडामा बैँकहरुले सावधानी अपनाउन थालेका छन् । बैँकहरुले सेवाग्राहीलाई एकैपटक भित्र जान नमिल्ने भन्दै सडकमा उभ्याइरहेका छन् । बैँकहरुले एकपटकमा २५ जना गरि भित्र पठाईरहेको छ । सेवाग्राहीहरुले भने आफुहरुलाई रोडमा लामो समय उभ्याएको भन्दै आक्रोश पोखेका छन् । बजार एवं सार्वजनिक स्थानहरुमा २५ जना भन्दा बढी जम्मा हुन समेत निषेध गरेको छ । तर बैंक तथा बजार एवं सार्वजनिक यातायातहरुमा भीड ठूलो देखिन थालिएको छ ।
निजी तथा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरुमा मानिसहरुको भीड जम्मा हुन थालेको छ । बैंकहरुले सुरक्षाका लागि एकपटकमा २५ जना गरी बैंकभित्र प्रवेश गराउने बाहनामा बैंकका गेटमा भने सयौंका संख्यामा मानिसहरुको भीड बढेको छ । बैंकहरुमा गएका उपभोक्ताहरु आफ्नो पालोकुर्न भन्दै बैंकका गेटमा जम्मा हुने गरेका छन् । यसरी एकै स्थानमा मानिसहरुको भीड हुँदा संक्रमण हुने जोखिम झन् बढ्ने चिकित्सकहरुले बताएका छन् ।
हेटौंडामा रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंकहरुमा मानिसहरुको बाक्लो उपस्थिति देखिएको छ । कोरोना भाईरसका कारण अत्यावश्यक सामग्रीहरु नपाईने भन्ने अफवाहका कारण सर्वसाधारण नागरिकहरु पछिल्ला दिनमा चाहिने भन्दा बढी घरायसी सामग्रीहरु खरीद गरिरहेका छन् ।
यता बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघले भने उपभोक्ताहरुलाई सकेसम्म डिजिटल प्रयोगबाट बैंकहरुको सुविधा लिन आग्रह गरेको छ । एटीएम र अन्य प्रविधिबाट रकम झिक्दा या स्थानान्तरण गर्दा रकम नलाग्ने जानकारी पनि बैंकर्स संघले गराएको छ ।

