राजपत्रमा समावेश गरिएका सेवाबाहेक अन्य सबै सरकारी कार्यालयहरू बन्द

टुडे संवादाता
९ चैत्र २०७६, आईतवार १७:४६

चैत्र ९, हेटौंडा /सरकारले अत्यावश्यक सेवाबाहेकका सरकारी तथा निजी कार्यालयहरू बन्द गर्ने घोषणा गरेसंगै मकवानपुरका सरकारी कार्यालयहरू आइतबारदेखि बन्द भएका छन् ।  हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी कार्यालय, हेटौँडा उपमहानगरपालिकासहित राजपत्रमा समावेश गरिएका सेवाबाहेक अन्य सबै सरकारी कार्यालयहरू बन्द भएका छन् ।

कार्यालय बन्द हुने सूचना नपाएर जिल्लाका विकट क्षेत्रबाट सेवा लिन आएका सेवाग्राहीहरू फर्किनुपरेको छ । सबै कार्यालयहरुले गेटमा सुचना टाँस गरेकाछन् । बिहान करिब साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा काम लिएर आएका १० जना सेवाग्राहीलाई सुरक्षार्थ खटिएका प्रहरीहरूले फर्काइदिएका छन् ।

सरकारले चैत ९ देखि अत्यावश्यक सेवाबाहेकका सरकारी तथा निजी कार्यालयहरू बन्द गर्ने घोषणा गरेको थियो । नागरिकता, पासपोर्टलगायतका काम लिएर आएका सेवाग्राहीलाई प्रशासनले २२ चैतपछि मात्रै आउन सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै २१ चैतसम्म जिल्लास्थित अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि कार्यालय बन्द गर्नुपरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*