चैत२६,हेटौंडा/बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित दुईवटा गाउँपालिका पुगेर बुधबार आइसोलेशन वार्ड निरिक्षण तथा कोरोनाविरुद्ध अभियानका लागि ३ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।
विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै विकट राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद समेत रहनुभएका नेता बानियाँले केहीदिन अघि विज्ञप्ती निकालेर घोषणा गरे बमोजिम राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आफूले जम्मा गरेको रकमको भौचर बुधबार हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी नेता बानियाँले राक्सीराङ र मनहरी गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डकोसमेत निरिक्षण गर्नुभएको छ ।
प्रमूख प्रतिपक्षी दलका नेता बानियाँले कोरोनाको बढ्दो संक्रमण र संभावित जोखिमलाई मध्यनजर गर्दै दुवै गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डको निरिक्षण गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई विशेष धन्यवादसमेत दिनुभएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले राक्सीराङ गाउँपालिका ५ बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । लकडाउनको समयमा आर्थिक अवस्था कमजोर रही दुईछाक टार्न समस्या परेका ३० घर परिवारलाई राक्सीराङ गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट खाद्य सामग्री वितरण गरेको हो ।
दुवै गाउँपालिकाको आइसोलेशन वार्ड निरिक्षण तथा रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस २ ख को क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेती, राक्सीराङ ५ का वडा अध्यक्ष चन्द्रसिं प्रजा, राक्सीराङ गाउँपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यगायतको उपस्थिति रहेको थियो ।