चैत्र ३०, हेटौँडा/मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो ।
कोरोनाको कारण विश्व नै समस्यामा रहेको अवस्थामा जेसीजले आफ्नो कार्यक्षेत्र अन्तर्गतको स्थानीय तहलाई सहयोग अभियान सुरु गरेको थियो । संक्रमित एवम् प्रभावितको क्षेत्रमा काम गर्न सहयोग पुर्याउने उधेश्यले जेसीज सदस्यबाट रकम संकलन गरि आर्थिक सहयोग गरिएको अध्यक्ष जयराम सुबेदीले जानकारी दिए । “हामीले आफ्नो कार्य क्षेत्र अन्तर्गतको स्थानीय तहलाइ विपदको अवस्थामा सहयोग गरेका हौं”, अध्यक्ष सुबेदीले भने, “आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जानेछौं । सययोगी सबैमा धन्यवाद ।” विपदको अवस्थामा मानवताको सेवा गर्नु जेसीजको धर्म भएको उनको भनाई थियो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जेसीजबाट प्राप्त सहयोगले हौसला मिलेको बताए । “गाउँपालिकामा राहत वितरण गरिरहेका छौं । कोरोनाको भित्रिन नदिन उत्तिकै सचेतना अपनाइरहेका छौँ, गाउँपालिका अध्यक्ष उप्रेतीले भने, ” गाउँपालिकाको अभियानमा सहयोग गर्नुभो निकै खुसी छौँ । जेसीजसंग हामी आगामी दिनमा पनि सहकार्य गर्न तयार छौँ ।” कार्यक्रममा उपस्थित हेटौंडा उपमहानगर १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी नवराजले आफ्नो वडामा जेसीज विकासको साझेदारको रुपमा रहेको उल्लेख गर्दै मनहरी गाउँपालिकाले पनि साझेदार बनाउनपर्नेतर्फ सुझाव दिए । यस्तै हेटौंडा ३ नम्बर वडाध्यक्ष रामकुमार पुडासैनीले सहयोगप्रती खुसी व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालय सहकार्यका लागि तयार रहेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बस्तिपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौला, अध्यक्ष सल्लाहकार प्रकाश लामा थोकरसहित जेसीज पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बस्तिपुर जेसीजको कार्यक्षेत्र मनहरी गाउँपालिका र हेटौंडाको ३ र १९ नम्बर वडा हो ।