कोरोना भाइरस बाट नेपालमा एक महिलाको मृत्यु

टुडे संवाददाता
३ जेष्ठ २०७७, शनिबार २२:३७

जेठ ३ , काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘… विस्स्वृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’

यसरी गरिन्छ अन्त्येष्टि

कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यविधि बनाएको छ ।

त्यसअनुसार नै मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको छ । सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो, जसमा उनका श्रीमान थिए । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो ।

मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ ।

कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ । मृतकका आफन्तले शव छुन समेत पाउँदैनन् । आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइनेछ भने आफ्नो परम्पराअनुसार शवलार्ए नछोई जल छर्कने,पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*