
साउन ९,हेटौंडा / मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माध्यमिक विद्यालयमा निर्माणाधीन १२ कोठे नयाँ भवन निर्माण गर्दा गल्ती / कमजोरी भएको, निर्माण समिति र फिल्डमा खटिएका प्राविधिकले स्वीकार गरेका छन् ।
नक्सामा उल्लेख भएअनुसारको रड प्रयोग नभएको, कूल १० वटा मध्ये ४ वटा प्लिन्थ लेबलको बेस बिम छुट्न गएको, निर्माण सामग्री तयार पार्दा क्यूब बक्स नराखीएको र ल्याब टेस्ट नगरीएको लगायतका गल्ती / कमजोरी भएको उनीहरुले स्वीकार गरेका छन् ।
आज पत्रकारहरुसंग कुराकानी गर्दै प्राविधिक विष्णु ढुंगानाले ल्याब टेस्ट गरेर मात्रै काम अघि बढाउन आफुले निर्माण समितिलाई आग्रह गरेको भएपनि निर्माण समितिले त्यसो नगरेको बताए । ‘ल्याब टेस्ट गर्नैपथ्र्यो तर गरिएन त्यो चाँही कमजोरी नै हो’ – उनले भने ।
रड नक्सामा उल्लेख भएअनुसारको प्रयोग नभएको उनको भनाई छ । लकडाउन थियो, विद्यालयले भनेको जस्तो रड पाएनछ, १२ एमएमको चाहिन्थ्यो उहाँहरुले १६ एमएमको रड झारिसक्नुभएछ – उनले भने ।
मैँले अन्य जानकार प्राविधिकहरुसंग पनि सल्लाह गरेर भवन बलियो हुनेगरी निर्माण समितिलाई रड प्रयोग गर्न भनेको छु –उनले थपे ।
त्यसैगरी निर्माण समितिका संयोजक चन्द्रबहादुर योञ्जनले निर्माण सामग्री (सिमेन्ट, गिट्टि र बालुवाको घोल) बनाउँदा क्यूब टेस्ट नगरीएको स्वीकार गरे । कामको चापाचाप थियो, क्यूब बक्स गाउँपालिकामा लगिएको थियो, त्यसकारण क्यूब बक्स नभएको हो, आगामी दिनमा हामी त्यसमा ध्यान दिन्छौँ – उनले भने ।
अख्तियारको टोलीले पनि हामीलाई सचेत गराएको छ । ‘एक पटकलाई माफी दिने भन्नुभएको छ, हामी अब गल्ती गर्दैनौँ’– उनले भने ।
यसअघि निर्माण समितिले निर्माण सामग्री तयार पार्दा सिमेन्टको मात्रा ठगी गरेको विषयमा विभिन्न तथ्य बाहिर आएको थियो ।
गल्ती ढाकछोप गर्ने अर्को प्रयास– राती आएर चुरीको दूरी सारेर फोटो खिचियो
विद्यालयले गल्ती ढाकछोप गर्ने अर्को प्रयास गरेको छ । मापदण्ड अनुसार चुरी प्रयोग भएको छैन । तर, रातारात कसैले आएर चुरीको दूरी सारेर फोटो खिची पत्रकारलाई पठाएर समाचार लेख्न लगाएको भन्दै विद्यालयले आरोप लगाएको छ ।
विद्यालयमा कम्पाउण्ड गेट छ, सो गेट राती बन्द हुन्छ । रेखदेख गर्ने कार्यालय सहयोगी पनि विद्यालयमा छन् । तर रातारात विद्यालयमा कसैले आएर चुरीको दूरी सारेर फोटो खिची पत्रकारलाई समेत झुक्याएर समाचार प्रकाशन गर्न लगाएको विद्यालय बताउँछ ।
तर तु खबरले यसअघि समाचारमा प्रकाशन गरेको तस्वीर दिउँसोको समयमा खिचिएको हो । यसअर्थमा विद्यालयले दिएको जवाफ पत्याउने आधार छैन ।हात्तिपाइले मापदण्ड अनुसार नभएको प्राविधिकहरुले गुनासो गरेका छन् । तर फिल्डमा खटिएका प्राविधिक ढुंगानाले भने गल्ती त्यसलाई ढाकछोप गर्ने प्रयास गरे ।
सो भवन निर्माणको चरणमा गम्भीर लापरबाही भएको भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले निर्माण कार्य रोकी अनुगमन गरेर मात्रै निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । अहिले काम रोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले पनि सो विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।
प्राविधिकले गल्ती स्वीकार गरेपनि निर्देशनालयमा भने निर्माण ठिक भएको भन्दै रिपोर्ट पेश
फिल्डमा खटिएका प्राविधिक ढुंगानाले ल्याब टेस्ट नगरी निर्माणको काम गरिएको, रड नक्सामा उल्लेख भएअनुसार प्रयोग नगरीएकोलगायतका गल्ती स्वीकार गरेका छन् । उनले कूल १० वटामध्ये ४ वटा बेस बिम पनि भुलबस छुटेको स्वीकार गरेका छन् ।
त्यसैगरी निर्माण समितिका संयोजक योञ्जनले क्यूब टेस्ट नगरी निर्माण सामग्री तयार पारेको स्वीकार गरेका छन् तर बागमती प्रदेश शिक्षा निर्देशनालयको कार्यालयमा भने विद्यालयले भवन निर्माणको काम प्राविधिक रुपमा ठिक भएको रिपोर्ट पेश गरेको छ ।
यद्यपी नक्सा तयार पार्ने जेबी इन्जीनियरीङ कन्सल्टेन्सीका इन्जीनियर लक्ष्मण ढकालले पनि नक्सा अनुसार भवन निर्माणको काम नभएको स्वीकार गरिसकेका छन् ।
शिक्षा निर्देशनालयले भानु माविमा नमुना विकास कार्यक्रम अन्तरगत १२ कोठे भवन निर्माणको लागि पहिलो चरणमा करिब ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

