काठमाडौं/कोभिड–१९ विरुद्धको लडाईमा सहयोग पु¥याउन अमेरिकी सरकारले नेपाललाई १ सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन् ।
भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिवद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।
त्यस्तै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोभिड विरुद्धको लडाईका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुआती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गरे । उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको समेत जानकारी दिए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने उनको भनाइ छ ।
भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिइएको छ ।