हेटाैंडा- मकवानपुरकाे राक्सिराङ गाउँपालिका क्षेत्रमा लगाइएकाे गाँजा तथा अफिम फडानीकाे लागि गाउँपालिकासँग अावश्यक समन्वय नगरिएपछि राक्सिराङ गाउँपालिका रुष्ट बनेकाे छ । संघीय संरचनाअनुसार अधिकार प्राप्त स्थानीय सरकारसँग कुनै पनि समन्वय र सहकार्य नगरी गाउँगाउँमा प्रहरी खटाइएकाे भन्दै गाउँपालिकाले अापत्ति जनाएकाे हाे ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अाइतबार एक विज्ञप्ति जारी गर्दै काेराेना भाइरसकाे महामारीकाबीच गाउँगाउँमा प्रहरीकाे हुल परिचालन गरिएकाे भन्दै यसले स्थानीयमा त्रास सिर्जना भएकाे बताएका छन् ।
‘गाउँपालिका अाफ्ना नागरिकका स्वास्थ्य र सुरक्षाका सन्दर्भमा धेरै संवेदनशील छ भने अर्काेतिर नेपालकाे संविधानकाे धारा २३२ मा संघ, प्रदेश र स्थानीय सरकारबीच सकारिरता, सहअस्तित्व र समन्वयकाे सिद्धान्तकाे अाधारमा सम्बन्ध स्थापित हुने व्यवस्था गरिएकाे छ । केहीदिनयता संघीयताकाे मर्म र संविधानकाे भावनाविपरित गाउँपालिकासँग कुनै समन्वय नगरी स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका डफ्फाका डफ्फा जनशक्ति गाउँ तथा वडावडामा छिरी स्थानीयमा त्रास फैल्याउने काम भइरहेकाे छ । ‘ गाउँपालिका अध्यक्ष मल्लद्धारा जारी विज्ञप्तिमा भनिएकाे छ -‘ यस्ता कार्यले स्थानीय स्तरमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणकाे जाेखिम बढ्न सक्ने व्यापक जनगुनासाेसमेत अाइरहेकाे सन्दर्भमा भाेलिका दिनमा स्थानीय स्तरमा काेराेना भाइरसकाे संक्रमण बढेर स्थिति भयावह भएमा त्यसकाे जिम्मेवारी सम्बन्धित निकायले नै लिन र गाउँबासीलाई सुरक्षित रहन अाग्रह गर्दछु ।’
काेराेना महामारीकाबीच गाउँपालिकामा अाउने शिक्षकहरुलाईसमेत काेराेना नेगेटिभ रिपाेर्ट अनिवार्य र रिपाेर्ट नहुनेलाई सात दिनकाे क्वारेन्टाइनमा राखी विद्यालय सञ्चालन गरिएकाे स्मरण गराउँदै गाउँपालिकाले स्वास्थ्यकाे मापदण्ड पूरा नगरी अावश्यक समन्वय पनि नगरी प्रहरी परिचालन गरिएकाेमा अापत्ति रहेकाे गाउँपालिका अध्यक्ष मल्लले बताए ।





















