हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकारको विरोध प्रर्दशनमा नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा दशौं हजार नागरिकको सहभागितामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । कम्युनिष्ट सरकारले दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका विभिन्न भ्रष्ट्राचार काण्डहरु गरेको आरोप लगाउँदै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो ।
कांग्रेसले विरोध सभालाई केन्द्रीय स्तरका नेताहरुले जिल्ला जिल्लामा सम्बोधन गर्ने कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्ने कार्यक्रम रहेका छ । उनि संगै प्रवक्ता विश्वप्रकास शर्मा पनि हेटौंडा आउने भएका हुन् । हेटौंडा उपमहानगरको विभिन्न १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार मान्छे हेटौंडामा उतारेर कम्युनिष्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बसेको नगर कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार पार्टीले हेटौंडाको ४ वटा नाकाबाट एक साथ सुरु गर्ने प्रदर्शनमा कांग्रेसको युवा संस्था नेपाल तरुण दल मकवानपुरले पनि जिम्मेवारी बाँडफाँड गरेको छ । पूर्वी नाकामा सचिव सचित थापा, पश्चिमी नाकामा उपाध्यक्ष निराजन वर्तौला, उत्तरी नाकामा अध्यक्ष ईश्वर पाठक र दक्षिणी नाकामा जिल्ला सदस्य विक्रम बललाई संयोजक तोकिएको छ ।
।
यसैबिच देशव्यापी गरिने सडक प्रदर्शनका लागि बरिष्ट नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडा वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै सहभागिता जनाउनुहुन्छ । आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर पौडेललाई प्रहरी हिरासतमा समेत लिएपछि आक्रोशित बनेको कांग्रेसले आउँदो सोमबार सरकारविरुद्ध देशैभरी प्रदर्शन गर्न लागेको हो । यसैगरी, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर सह महामन्त्री प्रकाशशरण महत झापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरा गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउदले अछामबाट सरकारले गरेका जनविरोधी कामविरुद्ध कार्यक्रमको नेतृत्व गर्नुहुनेछ ।