
काठमाडौं/सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे बोलाएको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा ‘कोरम’ नपुगेर बैठक स्थगित भएको हो।
बैठक आजै साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र विपक्षी दलका नेता शेरबहादुर देउवा बालुवाटार पुगेका थिए।
परिषद्को बैठकको कोरम पुग्न प्रधानमन्त्री बाहेक चार सदस्य उपस्थित हुनुपर्ने कानूनी व्यवस्था छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् ६ सदस्यीय हुने संवैधानिक व्यवस्था छ। परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन्। तर, अहिले उपसभामुख रिक्त रहेको र सभामुख उपस्थित नभएपछि बैठक बस्न समस्या भएको हो।
सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री र बाँकी सदस्यहरूबीच अनौपचारिक छलफल मात्र भएको छ। सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले समन्वय र गृहकार्यको अभावमा सभामुख बैठकमा सहभागी हुन नसकेको बताए। पर्याप्त गृहकार्य र पूर्वतयारी पनि नभएकाले बैठकमा सापकोटा सहभागी हुन नसकेको उनले बताए।
यसअघि आइतबार पनि विपक्षी दलका नेता देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको बस्न सकेको थिएन। संवैधानिक परिषद्को बैठक बस्न नसक्दा विभिन्न संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरूमा ४५ पदाधिकारी रिक्त छन्।

