हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले मकवानपुर जिल्लामै पहिलो पटक खाद्य तथा पोषण सुरक्षा योजना बनाउने भएको छ । खाद्य अधिकार ऐन २०७५ को कार्यान्वयनको लागि गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना बनाई कार्यान्वयन गर्न लागेको हो ।
विकट तथा पिछडिएका जातिको बाहुल्यता रहेका गाउँमा गरिबी र भोकमरीको अवस्थालाई मध्येनजर गर्दै कुनै पनि गाउँबासी खाद्य तथा पोषणको अभावमा पिरोलिन नपरोस् भन्नको लागि खाद्य तथा पोषण सुरक्षा योजना तयार गरी कार्यान्वयन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो चरणमा खाद्य अधिकार ऐनले प्रत्याभूत गरेको अधिकारको प्रयोग गर्दै खाद्य अधिकार निर्देशिका तयार गर्ने र ऐन कार्यान्वयनको संयन्त्रको रुपमा स्थानीय खाद्य समन्वय समिति गठन गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । समितिले खाद्य असुरक्षित परिवार पहिचान, किसानको पहिचान र वर्गीकरण आदि कामहरु गर्ने उनले बताए ।
गाउँपालिकामा खाद्य तथा पोषणको अवस्था पहिचान गरिसकेपछि खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । उनका अनुसार ऐन तथा कार्यविधिमा रहेर गाउँपालिकाले खाद्य अधिकार कार्यान्वयन अनुगमन र प्रतिवेदन तयार गर्ने कामलाई निरन्तर रुपमा सञ्चालन गर्नेछ भने खाद्य अधिकार ऐनको बारेमा सचेतना तथा जानकारीमुलक कार्यक्रम पनि सञ्चालन गर्नेछ ।
केही महिनाभित्रै खाद्य तथा पोषण सुरक्षा योजनाको मस्यौदा तयार गर्न गाउँपालिकाले फियान नेपालसँग आइतबार सम्झौता गरेको छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको फियान नेपालले विभिन्न चरणमा अन्तरक्रिया, सुझाव तथा सूचना संकलनलगायतको काम गरी गाउँपालिकाको यथार्थ स्थितिको आधारमा योजनाको मस्यौदा तयार गरी गाउँपालिकालाई हस्तान्तरण गर्नेछ । फियानले पहिलो चरणमा आइतबार गाउँपालिकाका जनप्रतिनधिहरुसँग अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा फियान नेपालका सचिव गोकर्ण रुपाखेती, फिल्ड संयोजक राजेन्द्र बस्नेत, कानुनी सल्लाहकार अधिवक्ता तिलक अधिकारी, संस्थाकी मकवानपुर संयोजक रेश्मी कार्कीलगायतले खाद्य अधिकार ऐन कार्यान्वयनको आवश्यकता र स्थानीय तहले पाएका अधिकारका बारेमा जनप्रतिनिधिलाई अवगत गराएका थिए । गाउँपालिका अध्यक्ष मल्लको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैगरी राक्सिराङलाई स्मार्ट गाउँपालिका बनाउने योजना पनि अघि सारिएको छ । गाउँपालिकाले गर्ने हरेक कामहरुलाई डिजिटल प्रविधिमा ढाल्ने गरी स्मार्ट गाउँपालिकाको अवधारणाअनुसार काम सुरु गर्ने तयारी भएको छ । स्मार्ट पालिकाको आवश्यकता र महत्वको बारेमा आइतबारै अन्तरक्रिया भएको छ । स्मार्ट पालिका प्रालिले गाउँपालिकाका जनप्रतिनिधिसँग नविनतम प्रविधिको प्रयोगको उपयोगिताबारे जानकारी गराएको हो ।