संसद विघटन:कांग्रेस मकवानपुरले आज हेटौँडा, जुरेली, मनहरी र बज्रबाराहीमा प्रदर्शन गर्दै

हेटौंडा टुडे
२५ पुष २०७७, शनिबार १२:४०

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरले शनिबार प्रतिनिधिसभा संसद् विघटनविरुद्ध मकवानपुरको विभिन्न ४ स्थानमा विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेस केन्द्रीय समितिको पूर्व घोषित कार्यक्रम अनुसार देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने प्रर्दशन अन्तर्गत नेपाली कांग्रेस मवकानपुरले पनि आज (शनिवार) मकवानपुरमा पनि विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ अन्तर्गत छतिवनमा, १ को प्रदेश सभा ‘ख’ अन्तर्गत हेटौंडाको बुद्धचोकमा प्रर्दशन गर्दैछ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ‘ख’ अन्तर्गत मनहरी बजारमा विरोधसभा आयोजना गर्दैछ ।

हेटौंडामा हुने विरोधसभालाई कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति एवम् बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाले चारै स्थानमा हुने विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन कांग्रेसका नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।

मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर विरोध प्रदर्शन तथा सभा सम्मेलनको आयोजना गर्दैै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*