
हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा जडान गरीएको अक्सिजन प्लान्ट खरिद गरेको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले ब्यहेरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको समन्वयमा अस्पतालमा जडान गरीएको प्लान्टको खरिद गर्दाको ३८ लाख रुपैँया मकवानपुर घर जग्गा ब्यवसायी संघले ब्हेरेको हो । आज अस्पतालमा एक कार्यक्रमबिच उक्त रकम प्लान्ट खरिद गर्ने सप्लायर्स कम्पनि बयोधा मेडिकल टेक्नोलोजी प्रालिका संञ्चालक दिपक खनाललाई हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष ध्रुब घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफु निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले बताए । महामारीका बेला अस्पताललाई सहयोग गर्ने घर जग्गा ब्यबसायीलाई मेयर महतले धन्यवाद ब्यक्त गरे ।
मकवानपुर घरजग्गा ब्यवसायी संघका अध्यक्ष घिमिरेले हेटौँडामा अक्सिजनको अभावमा मानिसहरुले ज्यान गुमाउन नपरोस भनी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट ल्याएको भन्दै बजेट निकासा गर्न समय लाग्ने बताउदै आफुहरुले उक्त अक्सिजन प्लान्ट खरिद रकम तिरिदिएको बताए ।
हेटौंडा अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि उपमहानगरपालिकाका मेयर हरी बहादुर महतको विषेश पहलमा २ हप्ता अघि अस्पतालमा अक्सिजन प्लान्ट ल्याईएको थियो । उपमहामनगरपालिकाबाट रकम निकासा प्रकृयामा समय लाग्ने भएपछि मकवानपुर घरजग्गा ब्यवसायी संघले उक्त अक्सिजन प्लान्टको खरिद रकम सप्लार्यस कम्पनिलाई बुझाएको हो । अहिले अस्पतालमा उक्त प्लान्टबाट दैनिक १८ सिलिन्डर अक्सिजन उत्पादन भैरहेको छ ।

