
हेटौंडा/मकवानपुर प्रहरीले दुई फरक फरक स्थानबाट २ सय ९ किलो लागुऔषध गाँजा, भरतीय ट्रक, कन्टेनर गाडी सहित ३ जनालाई पक्राउ गरेको छ ।
बुधबार (आज) बिशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे र वडा नम्बर १९ नेवापानीबाट २ सय ९ किलो लागुऔष गाँजा सहित ३ जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रिमालका अनुसार पूर्व पश्चिम लोकमार्ग सडक अन्तरगत हेटौंडाबाट बारा तर्फ जाँदै गरेको बिआर ०१ जिजि ९४९५ नम्बरको भरतीय ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको १ सय ६९ किलो लागुऔषध गाँजा फेला परेको हो ।
सो गाडीका चालक भारत मोतिहारी बस्ने ३० बर्षिय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ बर्षिय मुक्तार सैफिकलाई उक्त गाँजा, गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यस्तै बिशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले हेटौंडा १९ नेवारपानीबाट अर्का एकजनालाई ४० किलो लागुऔषध गाँजा,कन्टेनर गाडी सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने १९ बर्षिय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गुरुङलाई पूर्व पश्चिम लोकमार्ग सडक खण्ड अन्तरगत मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको लागुऔषध गाँजा ४० किलो फेला परेको हो ।
फेला परेको लागुऔषध गाँजा ,गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
