राष्ट्रिय फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामाको घोषणा

हेटौंडा टुडे
१० श्रावण २०७८, आईतवार १३:२५

काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै राजीनामा दिने घोषणा गरेका हुन्।

उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन्।

‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ उनले नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।

यता, एन्फाका प्रवक्ता किरण राइले भने प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेपनि एन्फासम्म जानकारी नआएको बताए।‘सामाजिक सञ्जालमार्फत् राजीनामा दिने घोषणा गर्नु भएको रहेछ। तर, उहाँले राजीनामा दिँदैछु भनेर हामीलाई जानकारी दिनु भएकाे छैन,’ उनले भने।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो।जसमा १ मात्रै जित हासिल भएको थियो। विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउँदा अस्ट्रेलिया र जोर्डनसँग पराजित भएकाे थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*