मकवानपुरको बकैयाको बान्द्रे खोलामा बेलिब्रिज पुल निर्माण सम्पन्न

हेटौंडा टुडे
२०७८ श्रावण ११, सोमबार १४:४५ गते

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ र ११ जोडने बान्द्रे खोलामा पुल बेलिब्रिज निर्माण सम्पन्न भएको छ । बकैयाको वडा नंबर ४ लाई वडा नंबर ११ सँग जोडने महत्वपूर्ण कडीको रुपमा रहेको बान्द्रे खोलाको पुल निर्माण सम्पन्न भएसंगै स्थानीयलाई बकैयाबाट काठमाण्डौँ जानको लागि थप सहज हुने भएको छ ।

बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको फलामे पुलबाट स्थानिय लाभान्वित हुने भएका छन् । कुल १ करोड ३० लाख रुपैँया लागतको उक्त पुलमा गाउँपालिकाको ८० लाख रुपैयाँ र बागमती प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट रहेको उपाध्यक्ष बोलखेले बताइन् । उक्त पुल २६ मिटर लामो र ६ मिटर चौडा रहेको छ ।

ठिंगनमा पुगेपछि कान्तिलोकपथसँग जोडिने उक्त सडकमार्गले बकैयावासीलाई काठमाण्डौँसँग थप नजिक बनाएको छ । बैशाखबाट पुल निमार्ण सुरु गरिएको र असार मसान्तसम्म बनाईसक्नुपर्ने भएपनि वर्षाका कारण पुलको सामान आउन समय लागेपछि निर्माण सम्पन्न केही दिन ढिला भएको हो ।

काठमाडौं जान तथा हेटौंडा आउनका लागि प्रयोग हुँदै आएको उक्त सडकखण्डमा लामो समयदेखि पुल नबन्दा स्थानीयले सास्ती झेल्दै आएका थिए । अन्य समय खोलाबाट नै आवतजावत गरिने भएपनि बर्षायाममा खोलामा बाढी आएर बाटो नै बन्द हुने गरेको थियो ।

पुल बनेपछि भने स्थानीयका साथै गाउँपालिकाबाट ठिङ्गन हुँदै काठमाडौं जाने सुमोहरु निर्धक्क रुपले चल्ने भएका छन् ।बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*