हेटौँडा/ मकवानपुरगढी गाउँपालिका वडा नं. ५ मा आजबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता प्रक्रियाको काम शुरु भएको छ । दर्ता गर्ने काम गढी ५ को वडा कार्यालय धादिङमै भईरहेकोे छ । मकवानपुरगढी ५ मा अवको १० दिनसम्म यो अभियान संचालन हुनेछ ।
राष्ट्रिय परिचयपत्रका लागि आवेदन १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप ९१ वटै, आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्ने वडा नं.५ वडाध्यक्ष जीत बहादुर घिमिरेले बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत मकवापनुरगढी ५ मा पनि आजबाट राष्ट्रिय परिचयपत्रको विवरण गर्नका लागि दर्ता सुरुवात भएको हो ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।






















