
काठमाडौं /मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । नेप्से सूचक २६ दशमलव ०२ अंकले बढेर ३ हजार १११ दशमलव ०९ बिन्दुमा पुगेको छ । यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च बिन्दु हो ।
यस दिन २ सय २३ कम्पनीको ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ बराबरको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर कारोबार भएको छ । पछिल्लो समय सेयर बजारले क्रमशः नयाँ उचाइ कायम गर्दै आएको छ । ३१ सय अंक आम लगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने बिन्दु पनि हो ।
११ अर्ब ५२ करोडको सेयर कारोबार
एकपछि अर्को रेकर्ड कायम गर्दै आएको बजारमा समयसमयमा करेक्सनसमेत आउने गरेको छ । बजारमा केही करेक्सन आए पनि यसले नयाँ उचाइ तय गर्दै जाने विश्वास गरिएको छ ।
मंगलबार लघुवित्त कम्पनी र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । विशेषगरी माइक्रोफाइनान्स समूहतिर आकर्षण देखिनुका दुई प्रमुख कारण मानिएको छ । पहिलो, चौथो त्रैमासमा माइक्रोफाइनान्स कम्पनीको रिपोर्ट तुलनात्मक रूपमा निकै राम्रो आएको छ । माइक्रोफाइनान्सको नाफा, रिजर्भ, ईपीएसलगायतका प्रमुख सूचक उत्साहबद्र्धक देखिएका छन् । सोही कारण लगानीकर्ताको आकर्षण चुलिएको हो । यस्तै, यस समूहको सेयर नबढेको पनि लामै समय भइसकेको थियो । यस कारण लगानीकर्ता यतातिर आकर्षित भएको अनुमान गरिएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुई उपसमूह बढेका छन् भने बाँकी ११ उपसमूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स उपसमूह ३ दशमलव ८५ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूह २ दशमलव ०४ प्रतिशतले बढेको छ ।
यस दिन पाँचथर पावर र रुरु जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, युनियन लाइफ इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ९८ प्रतिशत र लिबर्टी इनर्जीको ९ दशमलव ९३ प्रतिशतले बढेको छ ।
मंगलबार अपी पावर कम्पनीको सर्वाधिक ४६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ङादी गु्रप पावरको ४३ करोड ३२ लाख, फस्ट माइक्रोफाइनान्सको ३३ करोड ८६ लाख, स्वावलम्बन लघुवित्तको ३० करोड र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलव ०६ अंकले बढेर ५७७ दशमलव ५२ को बिन्दुमा आइपुगेको छ ।

