नेता बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज कोरोना बिरूद्धको खोप आउँदै

हेटौंडा टुडे
२५ श्रावण २०७८, सोमबार १८:०२

हेटौंडा /नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज कोरोनाबिरूद्धको खोप आउने भएको छ ।
बाँनियासहितको टोलीले स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठसंग सोमबार स्वास्थ मन्त्रालयमा गरेको भेटघाटमा बागमती प्रदेशको राजधानी मकवानपुरमा ५० हजार थान खोप पठाउने प्रतिबद्धता प्राप्त भएको हो ।

२० दिनभित्र मकवानपुरमा ५० हजार डोज कोरोनाबिरूद्धको खोप पठाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको बानियाँले जानकारी दिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसंग टेलिफोनमार्फत खोपको अवस्थाबारे जानकारी लिंदा जिल्लामा १ लाख डोज खोप आवश्यक रहेको जानकारी प्राप्त भएको बताउँदै बानियाँले तत्काल पहिलो चरणमा ५० हजार डोज व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको जनाए ।

मन्त्रालयबाट प्राप्त खोप हेटौंडा बजारका पसले, साना एवं मझौला व्यवसायी, निर्माण क्षेत्रसहितका मजदुर, औद्योगिक मजदुरसहित सर्वसाधारणलाई लगाउन बानियाँको सुझाव छ । पूर्व गृहराज्य मन्त्री बानियाँले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको अस्पतालसहित जिल्लाका स्वास्थ्य संस्थालाई कोरोनाको दोश्रो र सम्भावित तेस्रो भेरिएन्टका लागि तयारी अवस्थामा राख्न मन्त्रालयबाट आवश्यक व्यवस्था गर्न र बागमती प्रदेशसहित देशभर यथाशीघ्र खोप व्यवस्थापनका लागि राज्य मन्त्री श्रेष्ठलाई सुझाव दिएका थिए । मन्त्री श्रेष्ठले नेपाल आइपुगेको खोप केन्द्रमा भण्डारण गरेर नराखी चाँडोभन्दा चाँडो जिल्लामा पठाउने काम भइरहेको बताउँदै सुझाव अनुसार अघि बढ्ने बताएका थिए ।

छलफलमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सभापति लोक मोक्तान, नेता राजेन्द्र घिसिङ लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*