
हेटौँडा/ मकवानपुरमा जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मकवानपुरगढी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले भौतिक रुपमा पठनपाठनलाई निरन्तरता दिईरहेका छन । गाउँपालिकामा संक्रमण बढिरहेको अवस्थामा विद्यालय खुल्दा विद्यार्थीहरु संक्रमणको उच्च जोखिममा परेका छन् ।
विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराएर संक्रमणको जोखिमलाई बढाएको हो । करिब १५ दिन दिन विद्यालय खुलेको हो ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत राम बहादुर घलानले गाउँपालिकाले विद्यालय सुचारु गर्न अनुमति नदिएको तर विद्यालयले भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर विद्यार्थीहरुलाई गृहकार्य दिने गरेको जानकारी आएको बताए । उनले संक्रमणको जोखिम रहेको भन्दै भौतिक उपस्थित गराएर विद्यालय सुचारु गर्नु भन्दा वैकल्पिक सिकाई सहजिकरण गर्न अनुमति दिएको समेत बताएका छन ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख प्रजिअ भरत मणि पाण्डले निषेधाज्ञा अटेर गरेर विद्यालय संचालन गर्नेहरुलाई कारबाही सुरु गरिसकेको बताए । उनले जिल्लामा संक्रमण बढिरहेको र जोखिम पनि उत्तिकै रहेको जारी निषेधाज्ञाको अवस्थामा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर विद्यालय संचालन गर्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको बताए ।

