मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर

हेटौँडा/ भूकम्प गएको ६ वर्ष बितिसक्दा मकवानपुरका भूकम्प पीडितहरुमध्ये करिब ८० प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन्। बाँकीले निर्माण गरिरहेका छन्। अनुदान सम्झौता गरेकामध्ये आइतवारसम्म मकवानपुरमा २६ हजार ८ सय ७७ जना अर्थात ८० दशमलव ५ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख विमल किशोर केपीले बताए। मकवानपुरमा कुल लाभग्राही संख्या ३८ हजार ४ सय ५९ मध्ये ३५ हजार ७ सय ८७ लाभग्राहीले अनुदान सम्झौता गरे। तीमध्ये ३५ हजार ७ सय ७६ जना अर्थात ९८ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका थिए। त्यसैगरी, सार्वजनिक विद्यालयतर्फ हालसम्म ३ सय ७५ वटा विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। निजी आवास पुनर्निर्माणको कार्य सकेसम्म छिटो सम्पन्न गरी पुनर्निर्माण अभियानलाई बिराम दिनुपर्ने आवश्यकता छ।