
हेटौँडा/ यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।
लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।
यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्को दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो । नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ ।

