
हेटौँडा/ बुधबार हेटौँडा उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि मेयर हरिबहादुर महतले सडक फराकिलो पार्ने काममा अबरोध नगर्नको लागि नगरवासीलाई अनुरोध गरेका छन् । हेटौँडा बाहेकका अन्य सहरमा सडक फराकिलो पार्ने काम भैरहेको र हेटौँडापछि परेको उनले बताए । हेटौँडालाई व्यवस्थित र विकसित गराउनका लागि हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले २५ मिटर सडक विस्तारको लागि केन्द्रीय सरकारलाई पटक–पटक आग्रह गरेको भएपनि सुनुवाई नभएको समेत उनले बताए । २५ मिटर क्षेत्रका घरधनीले दिएको निबेदनलाई समेत अदालतले खारेज गरेको अवस्थामा २५ मिटर सडक फराकिलो बनाउने अभियान नहुनु दुःखद विषय भएको भन्दै उनले यसबारे संघिय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मेयर महतले भने स् ‘यस क्षेत्रमा घर बनाउने हरुले नक्सा पास गर्ने समयमै सरकार या उपमहानगरपालिकाले चाहेको खण्डमा २५ मिटर क्षेत्रमा निर्माण गरिएको घर–टहरा हटाउने कागज गरेका छन, अहिले आएर भत्काउन दिन्न भन्न पाईदैन् ।’
यस्तो छ विज्ञप्ती :
हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रादेशिक राजधानी रहेको मुलुकको केन्द्रभागमा अवस्थित उपमहानगरपालिका हो । मेची महाकाली जोड्ने महेन्द्र राजमार्ग, उत्तर दक्षिण जोड्ने त्रिभुवन राजपथ, हेटौंडा धरान चतरा जोडने मदन भण्डारी मार्गका साथै उपत्यका प्रवेशको रुपमा विकास गरिएको कान्ति लोकपथ लगायत थुप्रै सडक सञ्जालले समेटिएको एक सुन्दर र सम्भावना बोकेको शहर हो । यस उपमहानगरपालिकामा दुई दुई वटा औद्योगिक क्षेत्रहरु छन् । पछिल्लो समयमा शैक्षिक हवको रुपमा स्थापित यस नगरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै स्वास्थ्य क्षेत्रको गुणस्तर अभिबृद्धिको सम्भावना बढाएको छ । प्रादेशिक संरचना अनुसार प्रदेश मन्त्रालय, निर्देशनालय लगायत प्रदेशस्तरीय विभिन्न निकाय तथा कार्यालयहरु स्थापनाले नगरको आकर्षक बढ्दै गएको छ । विशेषगरी विगतमा तराइ क्षेत्रमा भएको मधेश आन्दोलन र पछिल्लो समयमा प्रदेश राजधानी घोषणा संगै अनुकूल वातावरणीय हावापानी र विकास हुदै गरेको पूर्वाधार सुविधाका कारण नगरमा अत्याधिक बसाइसराइको क्रम बढ्दै गएको छ । उपमहानगरपालिका यस अवसर र चुनौतिको व्यवस्थापनमा योजनाबद्ध ढंगले लागि पर्दै आएको छ ।
वि.सं. २०१३ सालमा मित्रराष्ट्र भारत र नेपालको राजधानीलाई जोड्ने गरी व्यापारिक मार्गको रुपमा त्रिभुवन हाईवेको निर्माण प्रारम्भ पश्चात समयक्रममा यस नगर भएर जाने पूर्वपश्चिम राजमार्ग लगायत अन्य राजमार्ग सडकहरुको निर्माण भएको हो । विगतदेखि सडक आसपासमा विकास भएको हेटौंडा बजार आजको तिब्र शहरीकरण हुदै गरेको एक महत्वपूर्ण नगरको हैसियतमा आइपुग्दाको समयमा जनसंख्या बृद्धि, यातायातका साधनहरुको बृद्धि लगायतका थुप्रै कारणले हेटौंडा बजारको मुख्य मार्गहरु अति नै सांघुरा र साना भएका छन् । जसका कारण सडक दुर्घटना दैनिक बढ्दो छ भने सडक सांघुरो भएको कारण सहज ढंगबाट आवागमन गर्न र बन्दव्यापार गर्न पनि कठिनाई हुंदै आईरहेको सर्वविदितै छ । नगरको आकर्षण तथा सुन्दरतालाई नै सांघुरा सडकले गिज्याएको भान हुने अवस्था रहेको छ । राष्ट्रियराजमार्यहरुको स्तरोन्नति गर्ने क्रममा नेपाल सरकारले पूर्व पश्चिम राजमार्गलाई एसियन हाईवेको रुपमा विकास गर्ने लक्ष्य राखेको र सोही अनुरुप मुलुकका अन्य शहरहरुमा सडक विस्तार र निर्माणको कार्य भै आकर्षक र चौडा सडक निर्माण भइसक्दा यस नगरको सडक उही अवस्थामा रहनु हामी सबै नगरबासीहरुलाई चिन्ता र बेखुशीको विषय भएको छ ।
यस उपमहानगपालिकाले राष्ट्रिय राजमार्गको अवधारणा र मापदण्डबमोजिम सडकको मुख्य भागबाट दायां बायां २५–२५ मिटर सडक चौडा गर्न प्रत्यक्ष परोक्ष रुपमा आवश्यक प्रयास गर्दै आईरहेको नै छ । जनप्रतिनिधि विहिनताको क्रमलाई तोड्दै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात बर्तमान नेतृत्व यस उपमहानगरपालिकामा निर्वाचित भई आएपछि आयोजना गरिएको पहिलो नगर सभाले नै सडकको मुख्य भागबाट दायां बायां २५–२५ मिटर सडक चौडा गरी सडक फराकिलो बनाउने प्रस्ताव पारित गरी नेपाल सरकार समक्ष अनुरोध गरेको व्यहोरा सबैमा विदितै छ । यस सन्दर्भमा सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गर्ने कार्य पनि पटक पटक भएको छ । भर्खरै सम्पन्न नवौं नगर सभाको बैठकले राष्ट्रिय राजमार्गको दांयाबांया २५–२५ मिटर चौडा गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको व्यहोरा यहांहरुसमक्ष जानकारी गराउन चाहन्छु । हालै हेटौंडा स्थित राजमार्ग विस्तार गर्दा घर जग्गाको क्षतिपूर्ति नदिई घर नभत्काउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई सम्मानित सर्बोच्च अदालतमा निवेदक वडा नं. १० बस्ने देवीलाल श्रेष्ठ समेतले दायर गर्नु भएको रिट निवेदन नं. ०७३–धय–१०७४ को परमादेश मुद्धामा सम्मानित सर्बोच्च अदालतको मिति २०७५÷२÷२ को फैसलाबाट रिट खारेज भएको सन्दर्भमा सडक विस्तारको क्रममा विगतमा देखिएको कानुनी अवरोध हटेको देखिएको सन्दर्भमा राजमार्ग सडक विस्तारको योजना कार्यान्वयनमा सहजता बढाएको देखिन्छ । विगतदेखि नै तदर्थ व्यवस्थाका रुपमा नगरबासीहरुको माग र स्थानीय दलीय सहमतिका आधारमा उपमहानगरपालिकाको निर्णयबाट राष्ट्रिय राजमार्गको दायाबाया घर निर्माण गर्दा सडक अधिकार र सेटव्याक गरी सडकको बीच केन्द्रबाट दायांबायां ३१ मि.छाडी घर बनाउनु पर्नेमा सो नछाडी घर टहरा निर्माण गरेका नगरबासीहरुले पछि नेपाल सरकार र नगरपालिकालाई आवश्यकता पर्दा विना मुआब्जा आफ्नै श्रोतले न.पा.को नियमानुसार क्लियर गरी दिनेछु भनि कवुलियतनामा गरि दिएको अवस्था सबैमा विदितै छ ।
राष्ट्रिय राजमार्गको दायां बायांका प्रभावित घरहरु भत्कने हल्लाले लामो समयदेखि मुख्यबजार क्षेत्रमा घरजग्गा विक्रि हुन सकेको छैन । नयां संरचना निर्माणको क्रम रोकिंदा दशकौ अघि बनेका जीर्ण भवनहरुले राजमार्ग सडकको दायाबायाका भाग ओगटेका छन । भवन तथा संरचना बैंकले धितो राख्न मान्दैन । घर मर्मत र थप निर्माण गर्न अनुमति पाईन्न । प्रदेश राजधानी रहेको हेटौंडा बजारको मुख्य दृश्य कुरुप बन्न पुगेको छ । यसले जुन गतिमा हेटौंडाको आर्थिक विकास हुनु पर्ने हो सो हुन सकेको छैन । हेटौंडा बजारको मुख्य सडक, सडक ऐन २०३१ अनुसार ५० मि. सडक चौडा हुंदा यस ठाउको आर्थिक समृद्धिको ढोका खुल्नुका साथै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन देख्न सकिन्छ । सरकारले सडक सीमा मिचेर निर्माण गरेको घर टहराहरुको संरचना भत्काउन शुरु गरेमा हेटौंडा उपमहानगरपालिकाले बजार र सडक आसपासको क्षेत्रहरुको सरसफाई र सुन्दरताको लागि नगरबासीहरुसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता पुनः जनाउदछ ।
हरि बहादुर महत
नगर प्रमुख
मितिः २०७८÷०५÷०९

