मकवानपुर जिल्लाका सबै आइसोलेसन सेन्टर बन्द भएको छ । कोभिड संक्रमण दर बढ्दै गएपछि सञ्चालनमा आएका आइसोलेसन सेन्टर कोरोना संक्रमण न्यून भएपछि बन्द भएका हुन् । हेटौंडा–६, गौरीटारमा १ सय २० बेड रहेको आइसोलेसन सञ्चालनमा आएको थियो । हेटौंडा उपमहानगरपालिकाले १५ बेडबाट १ सय २० बेडसम्म क्षमता विस्तार गरी आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको थियो । यसैगरी जिल्लामा संक्रमितहरुको चाप बढेसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको २ निजी अस्पतालले पनि आइसोलेसन सञ्चालन गर्दै आएका थिए । हेटौंडाको चुरेहिल अस्पतालमा १० बेडको आइसोलेसन रहेको थियो। यसैगरी मनहरी गाउँपालिकाको २५ बेडको आइसोलेसन सेन्टर अहिले बन्द छ । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार संक्रमण देखिएकाहरु सबै संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्न रुचाएका कारण संस्थागत आइसोलेसनहरु बन्द भएका हुन् । तर, होम आइसोलेसनमा बसेकाहरुले कोरोना संक्रमण भइसकेपछि पालना गर्नुपर्ने कुनै पनि सुरक्षाका मापदण्ड अपनाएका पाइँदैन । होम आइसोलेसनमा बस्दा छुट्टै बस्नुपर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड लागू हुन सकेको छैन । संक्रमित भएकाहरु अधिकांश परिवारमा घुलमिल भएर बसेका छन् । संक्रमितहरु परिवारको अन्य सदस्यसँगै खाने, बाहिर निर्धक्कसाथ हिँडिरहेका छन् । दैनिक ३० देखि ४० जना कोरोना संक्रमण पुष्टि भएपनि संक्रमण हुने सबै होम आइसोलेसनमा नै बस्ने गर्दछन् । मकवानपुरको सन्दर्भमा कोरोना परीक्षण गर्न दिएकाहरु रिपोर्ट नआएसम्म बजारमा घुमिरहेका हुन्छन् । संक्रमण पुष्टि भइसके पछि पनि अधिकांश बाहिर हिँडिरहेका छन् । होम आइसोलेसनमा बसेकाहरुको निगरानी स्थानीय सरकारले गर्नुपर्ने भएपनि गर्न सकेको देखिंदैन । हेटौंडामा सरदरमा दैनिक ४०–५० जनाको मात्र स्वाब संकलन हुने गर्दछ । स्वाब संकलन दर बढाएर टोलटोलमा कोरोना परीक्षणको मात्रा बढाउन सकिएको छैन । संक्रमण देखिएकालाई सुरक्षाका मापदण्ड अपनाएर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्नेसमेत कुनै निकाय पनि भेटिन्न । मकवानपुरमा हाल ३ सय २ जना संक्रिय संक्रमित छन् । ३ सय २ जना संक्रमितमध्ये २८ जना संस्थागत आइसोलेसनमा र बाँकी २ सय ७४ जना होम आइसोलेसनमा बसेका छन् ।
हाल जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ। कोरोना पोजेटिभ देखिएका सबैलाई सुर क्षाको मापदण्ड अपनाएर संस्थागत आइसोलेसनमा बस्न लाउने गरे कोरोना संक्रमण कम हुनसक्छ । अहिले मानिसहरुमा कोरोनाको त्रास पनि देखिंदैन। यो समाचार समृद्ध समाज दैनिकमा छ ।