
हेटौँडा/ मकवानपुरको भीमफेदी गाउँपालिकाका विद्यार्थीहरुलाई कोरोना भाइरस कोभिड–१९० विरुद्धको एस्ट्राजेनेका खोप भदौ १८ अर्थात भोलि शुक्रबार लगाइने भएको छ । गाउँपालिकाले भीमफेदी–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय र भीमफेदी–२ स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी खोप लगाइने भएको हो । गाउँपालिकाका अनुसार, उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी र भैसे स्वास्थ्य चौकीमा खोप लगाइने छ । खोप लगाउनको लागि उमेर खुल्ले परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र लिएर जानुपर्नेछ । गाउँपालिकाले पालिका अन्तरगत खोप केन्द्र तोकेर १८ वर्ष माथि उमेर समूहका उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भोलि खोप लगाइने भएको हो । यस्तै, भीमफेदी–५ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालय र भीमफेदी–६ स्थित महेन्द्र माध्यमिक प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरिएको भीमफेदी गाउँपालिकाले जनाएको छ । साथै, खोप लगाउनको लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।

