गम्भीर समस्याको संकेत पनि हुन सक्छ सिँगान

हेटौंडा टुडे
२८ भाद्र २०७८, सोमबार १६:१४

हेटौँडा/

सिँगान भन्नेबित्तिकै ‘छ्या’ भन्ने चलन छ। सबैले यसलाई फोहोर पदार्थको रुपमा लिन्छन्। तर, यो मानिसको स्वास्थ्यका लागि आवश्यक पदार्थ हो भन्नेचाहिँ धेरैलाई थाहा छैन। यसले ब्याक्टेरिया, धुलो र अन्य फोहोर पदार्थलाई फोक्सोमा छिर्न दिँदैंन। नाक र घाँटीको ग्रन्थीले दैनिक १.८ लिटर सिंगान उत्पादन गर्छ। यसले नाकलाई सुख्खा रहन दिँदैंन। यसले ब्याक्टेरियाका अतिरिक्त धुँवा, भाइरस र अन्य अतिक्रमणकारी तत्वहरुविरुद्ध ढालको काम गर्छ। ग्लाइकोप्रोटिन, पानी, एन्टिसेप्टिक इन्जाइम, एन्टिबडीज, इलेक्ट्रोलाइटलगायत विभिन्न पदार्थहरु पाइन्छन्।

सिँगानको रंग र परिणामले मानिसको स्वास्थ्यलाई प्रतिनिधित्व गर्छ। यो पारदर्शी सेतोदेखि कालो रंगसम्मको हुन्छ। हामीले खाएको खाना र बाह्य वातावरणले पनि सिँगानको रंग परिवर्तन गरिदिन सक्छ। चिसो लाग्दा या एलर्जी हुँदा सिँगानको परिमाण बढ्छ र नाकबाट निस्कन्छ। यसलाई राइनोरिया भनिन्छ।

अधिकांश अवस्थामा नाकबाट सिँगान बग्नुलाई सामान्य मानिन्छ। तर, कहिलेकाही यो गम्भीर समस्याको संकेत पनि हुन सक्छ। यसका कारण निम्न हुन्छन् :

रुघा : नाक र घाँटीमा भाइरल इन्फेक्सन भयो भने रुघा लाग्छ। अमेरिकाको मायो क्लिनिकका अनुसार एकसयभन्दा बढी भाइरसका कारण रुघा लाग्छ। यद्यपि चिसोका कारण पनि सिँगान बग्छ। भाइरसले नाक, घाँटी र फोक्सोमा आक्रमण गर्‍यो भने रुघा लाग्छ। यो वयस्कभन्दा पनि बालबालिका र वृद्धहरुका लागि बढी खतरनाक हुन सक्छ। रुघा लाग्दा शरीरले थप म्युकस उत्पादन गर्छ। भाइरसहरुलाई फोक्सो र शरीरका अन्य भागमा जानबाट रोक्न शरीरले थप म्युकस उत्पादन गरेको हो। यीमध्ये केही सिँगानको रुपमा बाहिर निस्किएको हो।

एलर्जी : केही वस्तुको एलर्जीका कारणले पनि सिँगान आउछ। धुलो, रौंजस्ता वस्तुका कारण मानिसलाई एलर्जी हुन सक्छ। साइनुसाइटिस : नाकको मार्ग सुन्निएको छ या जलन भएको छ भने यस्तो हुन्छ। यसले नाकको मार्ग साँघुरो बनाउँछ। यसले श्वास फेर्न असजिलो बनाउँछ र सिँगान बढाउँछ। साइनुसाइटिस हुँदा बाक्लो सिँगान बन्छ र यो पहेंलो या हरियो पनि हुन सक्छ।

अन्य कारणमा : ठेउला हुँदा, गर्भवती हुँदा तथा लागूपदार्थ दुव्र्यसनीमा पनि सिँगान आउने समस्या हुन्छ।

अन्य भागमा पनि हुन्छन् सिँगानजस्तो पदार्थ (म्युकस): म्युकस नाकबाट मात्र उत्पादन हुँदैंन, शरीरलाई राम्रोसंग सञ्चालन गर्न अन्य भागबाट पनि उत्पादन हुन्छ। शरीरको कुन भागबाट उत्पादनबाट भएको हो, त्यसैअनुसार नामकरण गरिएको छ। पाचन प्रणाली, श्वासपश्वास प्रणाली, महिला प्रजनन प्रणाली आदिबाट पनि म्युकस निस्कन्छ, जसले ती अंगलाई स्वस्थ पार्न र ठीकसंग काम गर्न मद्दत गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*