हेटौंडामा बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२९ भाद्र २०७८, मंगलवार ११:४२

हेटौँडा/ हेटौंडामा बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अस्मिता नेपालको आयोजनामा सोमबार बालविवाह न्यूनिकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम भएको हो ।

‘बालबालिकाको इच्छा, विवाह होइन शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेन इन्गेज एलायन्स नेपालका प्रकाश खतिवडा र अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सहजिकरण गरेका थिए । कार्यक्रममा पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, किशोरी समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालविवाहको वर्तमान स्थिति, बालविवाह हुनुको कारण र यसबाट हुने शारिरीक र मानसिक समस्याहरु, राष्ट्रिय कानूनी व्यवस्था तथा नीति, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२, अन्तराष्ट्रिय र क्षेत्रीय प्रतिबद्धता लगायतको विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष सुर्यबहादुर मोक्तान, वडा नम्वर ३ का अध्यक्ष बाबुलाल स्याङ्तान, अभिभावक समूहका अध्यक्ष चित्रबहादुर थिङ, किशोरी समूहकी अध्यक्ष रामकुमारी प्रजा, नारी संरक्षण केन्द्र मकवानपुरका राम मिजार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*