हेटौँडा/ थाहानगरपालिकामा एक दिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षक महासंघ थाहा नगरपालिका समिति अध्यक्ष तगा नगर शिक्षा पदन सदस्य राजाराम कार्कीको अध्यक्षता तथा थाहा नगरपालिका मेयर लवशेर विष्टको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले विद्यालयको संरचना तथा भावी योजनाको बारेमा प्रकाश पारेका थिए । शिक्षकलाई कक्षाकोठामा मात्र सिमित राख्नु नहुने र विषय केन्द्रित रहेर शिक्षकलाई तालिमको आवश्यकता पर्ने बताए । उनले हरेक विद्यालयमा पुस्तकालयको अनिवार्य आवश्यक रहेको बताउँदै पुस्तकालय बिनाको विद्यालय पानी बिनाको खोला सरह हुने बताए ।
यस्तै, कार्यक्रममा विज्ञान विषय कसरी पढाइ हुन्छ भन्ने विषयमा नवोदय विद्यालयका विज्ञान संयोजक अरुण दहाल, प्राथमिक तहमा ग्रेड शिक्षण आवश्यक पर्दछ भन्ने विषयमा शिक्षिका जमुना थापा र सोहिता भट्टराई, नेपाली भाषा र साहित्यको कसरी जगेर्ना गर्ने, कक्षाकोठामा विधागत रूपमा कसरी शिक्षण गराउने भन्ने विषयमा नेपाली विषयका सुपरिवेक्षक सिएम रिमाल, अङ्ग्रेजी विषयको प्रयोग किन र कसरी गर्ने भनेर अङ्ग्रेजी विषयका सुपरिवेक्षक मनोज लामा र सामाजिक विषयका सुपरिवेक्षक गौतम पोखरेलले सामाजिक विषयको बारेमा सहजीकरण गरेका थिए ।
अन्तरक्रियामा थाहा नगरपालिकामा रहेका संस्थागत तथा सामूदायिक विद्यालयमा अध्यापन गराउने विषयगत शिक्षक, शिक्षिका, विभिन्न विद्यालयका प्रिन्सिपल तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, नगर शिक्षा समिति सदस्य तथा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानुभाई कार्कीलगायले मन्तव्य व्यक्त गरेका थिए । शनिबार थाहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी विद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।