‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि पौडेललाई

हेटौडा टुडे
३ आश्विन २०७८, आईतवार ११:४५

हेटौँडा/ कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । अन्तिमस्पर्धामा उनले सन्तोष थापा र विक्की अग्रवाललाई पछि पर्दै उपाधि जित्न सफल भएका हुन् । उनले उपाधिसँगै कार र नगद २५ लाखसमेत प्राप्त गरेका छन् । प्रतियोगिताको सुरुदेखि नै उपाधिका दाबेदार मानिएका भरतमणि शोका निर्णायकदेखि दर्शकसम्म प्रिय मानिन्थे । उनले सुरु देखिनै आफूलाई प्रतिस्पर्धामा अब्बल साबित गर्दै आएका थिए । ताप्लेजुङबाट सहभागी उनी प्रतियोगितामा उत्कृष्ट क्यारिकेचर, कन्टेन्टमा विविधता, कन्फिडेन्ट पफर्मेन्सका लागि चिनिन्थे । पौडेल पछिल्लो समय उत्कृष्ट ४ को प्रस्तुतिमा समेत ‘पर्फमर अफ द राउण्ड’ हुन सफल भएका थिए । त्यतिबेला उनले पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । भरतमणि प्रतियोगितामा भेराइटी कन्टेन्ट दिएका कारण चर्चित थिए । उनले हरेक एपिसोडमा दर्शकले रुचाउने फरक–फरक कन्टेन्ट प्रस्तुत गर्दै आएका थिए । उनको घरबेटी र डेरावाल, डाक्टर साहेब, ज्येष्ठ नागरिक दुःख, पत्रकारको कथा र पूर्व युवराज पारसको क्यारिकेचर निकै रुचाइयो । ‘घरबेटी र डेरावाल’ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको क्यारिकेचरबाट उनको चर्चा सुरु भएको थियो भने सबैभन्दा चर्चित प्रस्तुति पूर्व युवराज पारसको क्यारिकेचर रह्यो । ‘घरबेटी र डेरावाल’को प्रस्तुतिमा उनले नेता बाँस्कोटादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेका थिए । ‘ज्येष्ठ नागरिक दुःख’, ‘पत्रकारको कथा’मा भने उनले सम्बन्धित विषयमा रहेर समसामयिक व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*