हेटौँडा/ मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय भरिएर पानी बाहिरिन सक्ने भन्दै कुलेखानी जलविद्युत आयोजनाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ । जलविद्युत आयोजनाको जलाशयमा एक हजार पाँच सय ३० मिटर पानी संकलन गर्न सकिन्छ ।
आइतबार दिउँसो १२ बजेसम्ममा एक हजार पाँच सय २९ मिटर ५६ सेन्टिमिटर पानीको सतह मापन गरिएको जानकारी गराउनुहुँदै कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख धिरेन्द्र चौधरीले जलाधार क्षेत्रमा ठूलो पानी पर्यो भने जलाशय भरिएर पानी बाहिरिन सक्ने भएकोले सतर्क रहन जानकारी गराइएको बताउनुभयो । कुलेखानी प्रथम जलविद्युत केन्द्रले असोज ७ गते नै तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
विद्युत उत्पादनको तुलना मागको दर कम भएसँगै प्राधिकरणको पावर व्याकअपको रुपमा रहेको कुलेखानी दैनिक बढीमा ५ घण्टा मात्रै सञ्चालन गरिएको केन्द्र प्रमुख चौधरीले बताउनुभयो । मानवनिर्मित जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना १, २ र ३ गरी कुल एक सय छ मेगावाट क्षमता रहेको छ । कुलेखानी जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा ठूलो पानी पर्यो भने एक घण्टामै जलाशय भरिएर पानी बाहिरिन सक्ने केन्द्रप्रमुख चौधरीले बताउनुभएको छ । समृद्व समाजबाट