
हेटौँडा/ मकवानपुरका सामुदायिक बिद्यालमा यौन शिक्षा दिने भएको छ । मकवानपुरका २१ वटा विद्यालयमा ल्यापटप र प्रोजेक्टर वितरण गरेर बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई प्रजनन् तथा यौन शिक्षा दिन लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्लाका स्वास्थ्य कार्यालयहरु मार्फत यो काम गर्न लागेको हो ।
यौनका विषयमा लजाउने, यसका बारेमा बुझाइको समस्याका कारण पनि स्वास्थ्य कार्यालय मकवानपुरले बिद्यालयकै शिक्षक तथा स्वास्थ्यकर्मी मार्फत यौन शिक्षा दिन लागिएको हो । अब यही आर्थिक वर्षमा फेरी अरु १३ विटा बिद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गर्ने तयारी समेत गरिएको छ । अब तत्काल बिद्यालयका बिज्ञान तथा स्वास्थ्य शिक्षकलाई तालिम दिने र बिद्यालयमा यौन र प्रजनन् शिक्षाको जानकारी दिन लगाउने तयारी भएको छ । तालिममा स्वास्थ्यकर्मीलाई पनि समावेश गराइने भएको छ । यो तालिम बिद्यार्थी र उनीहरुका अभिभाबहरुलाई पनि छुट्टा छुट्टै रुपमा सञ्चालन गर्ने तयारी भईरहेको छ ।
अहिले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भन्दा बाहेकका भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको एक–एक वटा बिद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए ।
