बागमती प्रदेश प्रमुख शर्मा डिस्चार्ज

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार १६:३९

हेटौँडा ।  बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचारपछि डिस्चार्ज हुनु भएको छ । मुटु सम्बन्धि समस्याबाट ग्रसित हुनुभएपछि गत असोज ४ गतेबाट उपचाररत रहनु भएका प्रदेश प्रमुख शर्मा गत १४ गते बेलुका डिस्चार्ज हुनुभएको हो । विगत ७ वर्ष देखि मुटु सम्बन्धि समस्याबाट ग्रसित रहनु भएका प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । प्रदेश प्रमुख शर्माको स्वकीय उप सचिव पारशमणि फुयालका अनुुसार प्रमुख शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र,उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।

प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनु भएको छ । ‘उपचारपछि पूर्ण रुपमा घरमै पूर्ण रुपमा स्वास्थ्य लाभ गरिरहेको छु ।’ प्रदेश प्रमुख शर्माले भन्नुभयो,‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका तीन वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तै, शर्माले आफू अस्वस्थ्य भई अस्पतालमा उपचाररत रहेका बेला स्वास्थ्य लाभका लागि कामना गर्ने अग्रज,शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ । ‘मेरो उपचारका लागि खटिएर लागिपर्ने मेडिकल टिम,मेरो स्वास्थ्यप्रति चासो राख्दै स्वास्थ्य लाभको कामना गर्नु हुने मेरा अग्रज व्यक्तित्व, शुभेच्छुक तथा शुभचिन्तक सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले भन्नुभयो । प्रदेश प्रमुख शर्मा आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कनुहुने स्वकीय उपसचिव फुयालले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*