हेटौँडा/ वास्तुशास्त्र प्राचीन विज्ञानमध्ये एक हो । वास्तुको अर्थ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ अनुशासन र निर्देश भन्ने हुन्छ । यसर्थ वास्तु शास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देश भन्ने बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । वास्तु शास्त्र पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ ।
वास्तु शास्त्रमा घरका सम्पूर्ण पक्षहरु केकसरी निर्माण गर्ने भन्ने बारे जानकारी दिइएको हुन्छ । घर निर्माणमा प्रयोग हुने विभिन्न पक्षहरुमध्ये रङ पनि एक हो । वास्तु शास्त्रमा घरमा रङको प्रयोग कसरी गर्ने भन्नेबारे पनि निर्देश गरिएको पाइन्छ ।
रङले हाम्रो सोच र विचारमा ठूलो असर पार्छ । उचित रङको प्रयोगले घरको वातावरण शान्त रहेको महसुस गर्न सकिन्छ । वास्तु शास्त्रअनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न निम्न कुराहरु ध्यानमा राखी रङको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङको प्रयोग गरेको उचित हुन्छ ।
- बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ प्रयोग गर्न उचित हुन्छ ।
- भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ लगाउनु राम्रो हुन्छ ।
- स्नान कक्ष (बाथरूम) का लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ लगाउनु उचित हुन्छ ।
- घरको कुनै पनि स्थानमा कालो रङको प्रयोग गर्नु उचित मानिदैन ।






















