
हेटौँडा/ सरकारले साढे ६ अर्ब बढी लगानीमा मयुरधाप औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले मयुरधाप औद्योगिक क्षेत्र हेटौंडाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन (ईआइए) तयार गरी निर्माण कार्य अगाडि बढाएको हो । मन्त्रालयले तयार गरेको इआईए प्रतिवेदनअनुसार उक्त औद्योगिक क्षेत्र ६ अर्ब ७१ करोड २१ लाखमा निमार्ण गर्ने तयारी गरेको छ ।
औद्योगिक क्षेत्रभित्र रङ उद्योग, दुग्ध उत्पादन उद्योगहरू, साबुन कारखाना, खाद्य उद्योगहरू, प्लास्टिक उद्योगहरू, स्टील उद्योग, रबर उद्योग, तार उद्योग, डिस्टिलरी उद्योग, पाइप उद्योग, काष्ठ सामानहरूको उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, इलेक्ट्रोमेकानिकल कार्यशालाहरू र छाला उद्योग निर्माण गर्ने भएको छ ।
सरकारले छुट्टाइएको उक्त औद्योगिक क्षेत्रमा विभिन्न उद्योगसँगै पूर्वाधारहरूमा भवनहरू, यातायात प्रणाली, पानी आपूर्ति तथा आगो नियन्त्रण प्रणाली, भेल व्यवस्थापन प्रणाली, फोहोर पानी संकलन तथा प्रशोधन केन्द्र, विद्युतीय प्रणाली तथा सब–स्टेशन, अप्टिकल फाइबर दूरसञ्चार प्रणाली आदि निर्माण गर्ने भएका छन् । साथै, उक्त क्षेत्रमा प्रत्यक्ष ५० हजार र अप्रत्यक्ष रुपमा १ लाख ५० हजारले रोजगारी पाउने उल्लेख गरेको छ ।
सरकारले सो आयोजनाको नाम मयुरधाप औद्योगिक क्षेत्र, मकवानपुर राखेको छ । सो औद्योगिक क्षेत्र १३४.८९ हेक्टर क्षेत्रफलमा निर्माण हुने भएको छ । जसमा मन्त्रालयले सो औद्योगिक क्षेत्रमा ७ देखि १४ रोपनीको ६२ वटा प्लटको प्रस्ताव गरेको छ ।
मन्त्रालयले प्रस्तावित भू–उपयोगअनुसार औद्योगिक प्लट क्षेत्रफल ३ लाख ४५ हजार ५८७ वर्गमिटर, सडकको क्षेत्रफल २ लाख १० हजार वर्गमिटर, प्रशासनिक क्षेत्र १ लाख ९ हजार २९२।९५ वर्गमिटर, मुद्रण विभागका लागि १ लाख ४७ हजार ४७८.५५ वर्गमिटर, आवासिय क्षेत्रको लागि २७ हजार ५४८.०८ वर्गमिटर, फोहर पानी प्रशोधन केन्द्रलाई १ लाख ५१ हजार ९४२ वर्गमिटर, हरित क्षेत्र १ लाख ८६ हजार २९८.४८ वर्गमिटर, मध्यवर्ती क्षेत्रलाई १ लाख ३५ हजार ४५२.६४ वर्गमिटर र सशस्त्र प्रहरी बल क्षेत्र ३५ हजार वर्गमिटर क्षेत्रफल छुट्टाइएको छ ।
