लघुवित्त चम्किँदा नेप्से ६८ विन्दुले उकालो, १३ कम्पनीमा पोजेटिभ सर्किट

हेटौडा टुडे
२० आश्विन २०७८, बुधबार १६:५६

हेटौँडा/ लघुवित्त समूहमा लगानीकर्ताले माग बढाउँदा सेयर बजार बुधबार ६८.४७ विन्दुले उकालो लागेको छ । लघुवित्त समूहका केही कम्पनीहरुले आकर्षक लाभांश घोषणा गरेपछि यो समूहमा उछाल आएको हो । जसले सिंगै बजारलाई माथि लैजान मद्दत गरेको छ ।

नेप्से २.६२ प्रतिशतले बढ्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५९ प्रतिशतले बढेको छ । बजार बन्द हुँदा नेप्से २६८१.१८ विन्दुमा छ भने सेन्सेटिभ इन्डेक्स ५०४.७४ मा छ ।

यस दिन कारोबार भएका सबै समूहको सूचक हरियो छ । प्रतिशतका हिसाबमा सबैभन्दा बढी उकालो लाग्नेमा वित्त समूह देखिएको छ भने विन्दुका आधारमा लघुवित्त समूह अगाडि छ । लघुवित्त समूहको सूचक २९६.१५ विन्दुले बढेको छ ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । यस दिन ५५ हजार ३८५ कारोबारबाट ८१ लाख ८९ हजार ८९० कित्ता सेयर चार अर्ब ५० करोड ६ लाख ५८ हजार १४१ रुपैयाँमा करिदबिक्री भएका छन् । मंगलबार ४१ हजार ५१ कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता सेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँमा खरिदबिक्री भएका थिए ।

बुधबार कारोबार भएका २२७ स्क्रिप्टमध्ये २०९ वटाको भाउ बढेको छ भने १४ वटाको घटेको छ । चारवटाको क्लोजिङ मूल्य स्थिर रह्यो । १३ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीमध्ये अधिकांश लघुवित्त कम्पनी छन् भने दुईवटा फाइनान्स र एउटा जलविद्युत् कम्पनी छन् । यस दिन सबैभन्दा बढी गुमाउनेमा रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर भाउ २।१६ प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*