
हेटौँडा/ आजबाट नेपाली जनको महान पर्व बडादसैँ सुरु भएको छ । बडा दसैँ सुरु हुनुभन्दा अगाडि नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ । दशैंभर हरेक दिन प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पुजा हुन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।
शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप-शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पति मध्ये जमरा पनि एक भएकोले अधिष्ठात्री भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिन्छ । जलपूर्ण घडा (कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरुका वेदीलाई लेपन गरिन्छ । घडाको वरिपरि जौको बिज रोपिन्छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्यत्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरालाई नवमीको नवरात्री पुजा सकेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।घर शुद्ध भएपछि मात्रै देवीको आगमन हुन्छ भन्ने विश्वासका साथ घटस्थापना अर्थात जमरा राख्नुपूर्व गाउँघरमा भने रातो र कमेरो माटोले तथा सहरमा रङहरुले घर लिपपोत तथा रङरोगन गरिन्छ ।

