२३ विन्दुले घटेर सेयर बजार बन्द, ३.६३ अर्बको कारोबार

हेटौंडा टुडे
२५ आश्विन २०७८, सोमबार १७:२३

हेटौँडा/ दसैंको बिदा सुरु हुनुअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार २३.१९ विन्दुले घटेर बन्द भएको छ । लगातार दोस्रो दिन दोहोरो विन्दुले ओरालो लागेको बजारमा तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँको सेयर किनबेच भएको छ । असोजको समाप्ति सँगै बैंकहरुले ब्याज बढाउने सूचना प्रवाह भएका कारण त्यसको असरसमेत सेयर बजारमा परेको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव कायमै रहेकाले निक्षेप बटुल्न बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका छन् । नेपाल राष्ट्र बैंकबाट कुनै पहल कदमी नभएको अवस्थामा बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुनेगरी निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने तयारी गरेका हुन् । यसअघि नै निक्षेपको ब्याजदर १० प्रतिशतसम्म पुगिसकेको छ ।

सोमबार नेप्से ०.८७ प्रतिशत घटेर २६३९.३८ विन्दुमा छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले घटेर ४९४.२२ विन्दुमा आइपुगेको छ । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये लगानी र म्युचुअल फन्ड झिनो विन्दुले बढेका छन् । बाँकी सबैको सूचकमा रातो पोतिएको छ । सबैभन्दा बढी ओरालो लाग्नेमा अन्य समूह छ । यो समूहको सूचक २.२१ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको सूचक पनि दुई प्रतिशतभन्दा बढीले घटेको छ ।

यस दिन कारोबार भएका २१९ वटा स्क्रिप्टमध्ये १५२ वटाको सेयर मूल्य घटेको छ भने ४९ वटाको बढेको छ । १८ वटाको क्लोजिङ मूल्यमा कुनै परिवर्तन भएन । घट्दो बजारमा पनि ग्लोबल समुन्नत स्किम १ को सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा महालक्ष्मी विकास बैंक र रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ता परेका छन् । यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतभन्दा बढीले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*